काठमाडौं– एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतले कानूनभन्दा माथि कोही नभएको बताएकी छन्। प्रहरी नियन्त्रणमा रहेकी गायिका राउतले सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानूनभन्दा माथि कोही पनि नभएको बताएकी हुन्।
उनले भनिन् ‘कानूनभन्दा माथि कोही पनि छैन, म पनि छैन। कानूनका हिसाबले जे मलाई हुन्छ, त्यो सहर्ष स्वीकार गर्छु।’ घटनाबाट आफूले संयमित हुनुपर्छ भन्ने पाठ सिकेको भन्दै राउतले ‘कोअपरेट’ गर्न नै आफू प्रहरीमा उपस्थित भएको बताइन्। प्रहरीले आफूलाई सौहादपूर्ण वातावरणमा आफ्नो कुरा राख्न दिएको समेत गायिका राउतले बताएकी छन्।
माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवाद काे भिडियाे सार्वजनिक भएको थियो। प्रहरी जवान रमिता श्रेष्ठले अभद्र व्यवहारको निवेदन दिएपछि प्रहरीले प्रकाउ पुर्जी जारी गराएकाे थियाे।
सोमबार बिहान ८ बजे अभिभावकसहित महानगरीय प्रहरी परिसर, टेकु पुगेर उनले आत्मसमर्पण गरिन्। प्रहरीले उनीसँग सोधपुछ गरेको छ र अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराउँदैछ।