एजेन्सी– एक हुलाकीले हजारौँ चिठीपत्र सम्बन्धित पक्षलाई हस्तान्तरण नगरी घरमा थुपारेको पाइएपछि अधिकारीहरूले अनुसन्धान गर्ने घोषणा गरेका छन्।
ती भूतपूर्व हुलाकीले टोक्योनजिकै कानागावास्थित आफ्नो घरमा थुपारेका २४,००० वटा चिठीपत्र अधिकारीहरूले फेला पारेका थिए। उनको नाम खुलाइएको छैन तर ती व्यक्ति ६१ वर्षीय भएको बताइएको छ।
चिठीपत्र वितरण गर्न धेरै झन्झट भएको तर तन्नेरी सहकर्मीभन्दा आफू कम सक्षम देखिन मन नलागेको उनले भनेको बताइएको छ। योकोहामाको हुलाक कार्यालयले क्षमायाचना गर्दै ती सबै चिठीपत्र वितरण गर्ने वाचा गरेको छ।
गत वर्ष आन्तरिक परीक्षणका बेलामा ती व्यक्तिबारे शङ्का उत्पन्न भएको थियो। उनी आफू कार्यरत शाखामा वितरणकार्यको प्रमुख थिए। गल्ती स्वीकारेपछि उनलाई कामबाट हटाइएको थियो। त्यसपछि फेब्रुअरी २०१७ देखि गत वर्ष नोभेम्बरसम्म झन्डै एक हजार चिठीपत्र हराएको भन्दै उनीविरुद्ध मुद्दा चलाइएको थियो।
प्रकाशित समाचारहरूका अनुसार उनले सन् २००३ देखि नै चिठीपत्र वितरण नगरी थुपार्न थालेका थिए। दोषी ठहर भएमा उनलाई तीन वर्ष जेल अथवा झन्डै पाँच लाख येन जरिवाना हुन सक्छ। बीबीसी