काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई अनुसन्धानका लागि थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ। सोमबार आफैं प्रहरीमा उपस्थित भएपछि प्रशासनमा उपस्थित गराइएकी राउत अब थप ४ दिन हिरासतमै रहनुपर्ने भएको हो।
सोमबार बिहान ८ बजे अभिभावकसहित महानगरीय प्रहरी परिसर, टेकु पुगेर उनले आत्मसमर्पण गरिन्। उजुरीकर्ता प्रहरी जवानले उजुरी फिर्ता लिन अस्वीकार गरेपछि गायिका राउतले आफू कानूनअनुसारको कारवाही भोग्नका लागि तयार भएको प्रतिक्रिया दिएकी थिइन्।
माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवाद को भिडियो सार्वजनिक भएको थियो। प्रहरी जवान रमिता श्रेष्ठले अभद्र व्यवहारको निवेदन दिएपछि प्रहरीले प्रकाउ पुर्जी जारी गराएको थियो।
राउत सोमबार बिहान नै प्रहरीको सम्पर्कमा आए पनि प्रहरीले भने अपराह्नतिर मात्रै जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको थियो।