काठमाडौं– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको पहिलो खेलमा नेपाल पुलिस क्लबले नेपाल एपीएफ क्लबलाई १–० गाेलले पराजित गरेको छ।
पाँचौ मिनेटमा पुलिसका भरत शाहको प्रहारलाई गोलरक्षक अमृत चौधरीले विफल पारे। ११ औं मिनेटमा सौजन राईको फ्रिकिक बाहिरियो। १३ औं मिनेटमा पुलिसले भोला सिलवालको पेनाल्टी गोलमा अग्रता लियो। कर्नर प्रहारमा हेडर गर्ने क्रममा राजन गुरुङले भरत शाहलाई धकेलेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले पेनाल्टी दिएका थिए।
उक्त अवसरलाई कप्तान भोलाले गोलमा परिणत गरे। ३८ औं मिनेटमा आशिष लामाको फ्रिकिक बाहिरिदा एपीएफ बराबरीबाट चुक्यो। ४२ औं मिनेटमा प्रदिप लामाको कर्नरमा रमेश दंगालको हेडर पोस्टबाट थोरै बाहिरिदा एपिएफ पुनः बराबरी गर्नबाट चुक्यो।
पहिलो हाफमा पछाडि परेको एपिएफले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्यो। ५० औं मिनेटमा रवि पासवानको पासमा नीर कुमार राईको प्रहारलाई एपिएफका सुदिप शिख्रकारले गोल लाइनबाट बचाउदा पुलिस अग्रता दोब्बर बनाउनबाट चुक्यो। ५४औं मिनेटमा रमेश दंगालको गल्तीमा सौजनले बल खोस्दै भरत शाहलाई दिएको पासलाई रवि पासवानको प्रहार गोलक्षक अमृत चौधरीले बचाए।
६२औं मिनेटमा नवीन लामाको फ्रिकिकलाई गोलरक्षक रोशन खड्काले पञ्च गरेर बचाएपनि रिवाउन्डमा बुद्विमान राईको प्रहारलाई सन्तोष हेमरुनले डाईभिङ हेडिङ गर्दै बचाए। इन्ज्युरी समयको तेस्रो मिनेटमा राजिव लोप्चनको प्रहारलाई रोशन खड्काले उत्कृष्ट बचाउ गरे।
त्यसबाट आएको कर्नरमा एपिएफको तीन प्रहार गोल हुन सकेन। खेल सकिएपछि रेफ्रिमाथि अभद्र व्यवहार गरेपछि एपिएफका सुदीप सिख्राकारलाई रातो कार्ड देखाए। यस जितसँगै पुलिसले ९ खेलका १४ अंक बनाएको छ। पुलिस ४ जित र २ बराबरीको नतिजाले पाँचौ स्थानमा उक्लियो। एपिएफ भने ५ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ।