काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहालले जातीय मुक्तिका लागि संविधान संशोधन गरेर भएपनि अगाडी बढ्ने बताएका छन्। पार्टीको भातृ संगठन आदिवासी जनजाती महासंघको सपथग्रहण कार्यक्रममा दाहालले जातीय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन गरेर भएपनि अगाडी बढ्ने बताएका हुन्।
उत्पीडित वर्ग, जाति तथा समुदायहरु अझैपनि पूर्णरुपले मुक्त हुन नसकेको उल्लेख गर्दै दाहालले शान्तिपूर्ण रुपमा एकतावद्ध भएर संविधान संशोधनको माध्यमबाट यसलाई परिमार्जन गरिने बताए। विकास र समृद्धिको यात्रालाई सामाजिक व्यवस्थासहित समाजवादतिर अगाडी बढाउँदै गएमात्रै सोचेजस्तो समानता प्राप्त हुने दाहालको भनाइ छ।
दाहालले साम्राज्यवाद र सामन्तवाद विरुद्धको लडाई जितेपनि अझै समानताको पुरै लडाई जित्न बाँकी रहेको र यसका लागि मिहेनत गरी एकतावद्ध भएर अगाडी बढ्नुपर्ने उल्लेख गरे। नेकपा सबै खालका विभेदको अन्त्य गरी सबैको हक अधिकारका सुनिश्चित गर्न सदैव तयार रहेको दाहालको भनाइ छ।
पूँजीपतिहरु र साम्राज्यवादीहरुले साम्प्र्रदायिक विद्वेश फैलाउने र जातिजातिबीच लडाई गराउने नीति र कम्युनिष्टहरुले अघि सारेको जातीय हक अधिकार र मुक्तिको विषय फरक भएपनि बुर्जुवाहरुले यसलाई गोलमाल गर्ने गरेको दाहालले उल्लेख गरे।अध्यक्ष दाहालले सबैलाई समान अधिकार प्राप्तीको सुनिश्चिता नभएसम्म देशमा भौगोलिक विविधता र विविधतायुक्त एकता कार्यम गर्न नसकिने बताए।