बाग्लुङ – यहाँको ऐतिहासिक दुई पर्यटकीय गन्तव्यस्थललाई जोड्न करीब डेढ किमी पदमार्गको निर्माण कार्य शुरु गरिएको छ। गलकोट नगरपालिका–७ मल्मस्थित ऐतिहासिक सिद्धेश्वर शिवालय मन्दिर र वडा नं ९ को पाण्डुकेशरी गुफाबीचको आउजाउ सहज बनाउन पदमार्गको निर्माण शुरु गरिएको हो।
करीब डेढ किमी दूरीको पदमार्ग निर्माण यही वर्ष सक्ने लक्ष्य लिइएको छ। व्यवस्थित पदमार्गका लागि वडा नं ७ बाट गत आव र चालू आवमा गरी रु चार लाख बजेट छुट्टयाएको छ। पदमार्ग निर्माण गर्दा २० प्रतिशत जनश्रमदानसमेत गर्ने बताइएको छ। ‘अघिल्लो वर्ष ५ सय मिटर पदमार्ग बनायौँ, बाँकी काम यो वर्ष पूरा हुन्छ’, सिद्धेश्वर शिवालय सेवा समितिका अध्यक्ष ज्ञानबहादुर थापाले भने। साँघुरो र जीर्ण बनेको घोढेटो बाटोलाई स्तर सुधार गरी पदमार्ग बनाइएको उनको भनाइ छ।
धार्मिक र पर्यटकीय महत्वका दुई गन्तव्यस्थल जोड्ने गरी पदमार्ग बनाउन स्थानीयवासीले पहल गरेका थिए। विसं १८१० मा बनेको मन्दिर र विसं २०४२ तिर फेला परेको गुफालाई जोडेर अन्य पर्यटकीय पूर्वाधार निर्माणको कामसमेत अघि बढाइने योजना समितिको छ।
‘गुफा परिसरमा उद्यान, वनभोजस्थललगायतका संरचना बनाउने योजना छ’, समितिका अध्यक्ष थापाले भने, ‘गुफादेखि माथि टिम्लेचौरस्थित माईको मन्दिर पुनःनिर्माण गरिने योजनाका साथ समिति अगाडि बढेको छ।’ वडा नं ९ को रु पाँच लाख बजेटमा दुई वर्षअघि बाँस्खोलादेखि गुफासम्म दुई किमी पदमार्ग निर्माण भइसकेको छ। गत आवमा रु एक लाख बजेटमा गुफामा ‘रेलिङ’ राख्ने काम गरिएको वडाध्यक्ष तेजबहादुर थापाले बताएका छन्।
सीमाक्षेत्रमा पर्ने हुँदा गुफाको संरक्षणमा दुवै वडाले लगानी गरेका छन्। गुफा र मन्दिरबीच वर्षौँ पुरानो सम्बन्ध छ। बालाचुर्तदशी पर्वमा मन्दिरदेखि सतबीज छर्दै गुफा पुग्ने र पूजाआजा गर्ने चलन छ। उक्त पर्वमा गुफामा भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ। घाँसदाउरा गर्ने क्रममा गाउँलेले विसं २०४२ मा गुफा फेला पारेका थिए।
गुफाभित्रको पत्थरमा विभिन्न देवीदेउता र नागका आकृति छन् । गाईका थुनजस्ता देखिने आकृतिबाट बाह्रैमास पानीका धारा चुहिने गर्छन्। गुफा छिर्ने भक्तजन बढ्दै जाँदा धारा पनि बढ्ने गरेको बताइन्छ । गुफाको भुइँतलामा ससाना जलकुण्डसमेत छन्। माथिल्लो तला भने सुक्खा छ। भ¥याङ र कृत्रिम प्रकाशको सहायताले मात्र गुफाको उपल्लो तलामा पुग्न सकिन्छ। एक सय जनाले एकैसाथ गुफाको अवलोकन र पूजाआजा गर्न सकिने वडा नं ९ का अध्यक्ष तेजबहादुर थापाले बताएका छन्।
मानिसले कुँदेका जस्ता देखिने विभिन्न अलौकिक आकृतिले गुफा पुग्नेलाई आकर्षित गर्ने गर्छ। ‘धार्मिक महत्वसँगै गुफा क्षेत्र प्राकृतिक हिसाबले पनि रमणीय छ’, वडाध्यक्ष थापाले भने, ‘गुफालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक छ।’ शिवालय मन्दिरको पनि पुनःनिर्माणसहित बृहत्तर विकास योजना अघि बढाइएको छ ।
संरक्षण नहुँदा मन्दिरको अस्तित्व नासिने खतरा थियो। मन्दिरसहित धर्मशाला, शिवलिङ्ग मण्डप, सभाकक्षलगायतका संरचना बनाइने समितिले जनाएको छ। पूर्वाधार तयारीका लागि जग्गाघडेरी सम्याउने काम सकिएको छ। एक सय आठ शिवलिङ्गका मूर्ति प्रतिस्थापनका लागि काम शुरु भएको छ।
शिवलिङ्गसहित द्वादश रुद्र, एकादश रुद्र, गणेश, हनुमान, नवग्रहको समेत गरी कूल १३८ मूर्ति राखिने जनाइएको छ। झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा शिवरात्रि र बालाचर्तुदशी पर्वमा ठूलो मेला लाग्ने गर्छ। विशेष पर्वबाहेक मन्दिरमा दैनिक पूजाआजासमेत हुने गरेको छ। (रासस)