इलाम – इलामको रोङगाउँबाट स्वस्थ्य जीवन अभियान प्रबर्द्धन शुरु भएको छ। प्रदेश नं १ का सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सो अभियानअन्तर्गत जीवनशैली परिर्वतनका लागि योग तथा आयुर्वेदको प्रयोग, टोल समुदाय सरसफाइ, मातृशिशु सुरक्षा, पोषणमा स्थानीय उत्पादनलाई जोड दिने खालका कार्यक्रम समावेश गरिएको छ।
त्यस्तै अभियानअन्तर्गत नै सुर्तीजन्य पदार्थ नियन्त्रण, मदिरा न्यूनीकरण, सर्ने र नसर्ने रोग व्यवस्थापनका साथै आयुर्वे्दिक स्वास्थ्य शिविर सञ्चालन गर्ने बताइएको छ। पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोगका बिरामी बढी भएका कारण यससँग सम्बन्धित जानकारीसमेत सो अवसरमा गराइने छ।
नसर्ने रोगको प्रकोप बढ्दो रहेकाले जीवनशैली, खानपान र व्यवहार परिर्वतनका साथै स्वास्थ्यको दिगो विकास लक्ष्यका सूचक प्राप्तिका लागि स्वास्थ्य प्रवद्र्धनका क्रियाकलाप जरुरी रहेकाले अभियान शुरु गरिएको मेची अञ्चल आयुर्वेद अस्पतालका प्रमुख तीर्थ आचार्यले बताएका छन्। रोङ गाँउपालिकाको ३ नं वडाबाट सोमबार यस कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको हो।
अभियानअन्तर्गत प्रतिबद्धतापत्रमा गाउँपालिकाका अध्यक्ष शम्शेर राई, विद्यार्थी, अभिभावक, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायतले हस्ताक्षर गर्दै जीवनशैली परिवर्तन गर्ने बताएका छन्।
यसै कार्यक्रमअन्तर्गत सातदिने स्वास्थ्य शिविरसमेत शुरु गरिएको छ। शिविरमा शारीरिक उचाइअनुसारको तौलको अनुपात जाँच गर्ने, दैनिक क्यालोरी सिट दिने र आफैँ सामान्य बिरामीको जाँच गर्न सक्ने जस्ता पद्धतिबारे स्थानीयवासीलाई जानकारी गराइने बताइएको छ। रासस