दमौली– चितुवाको आक्रमणबाट ज्यान गुमाएका तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका १० वर्षीय इशक सुनारको परिवारलाई राहत रकम प्रदान गरिएको छ। डिभिजन वन कार्यालय तनहुँले किरिया खर्चवापत बालकको परिवारलाई आज रु ५० हजार राहत प्रदान गरेको हो।
चितुवाको आक्रमणबाट बालक सुनारको सोमबार साँझ मृत्यु भएको थियोे। मृतक बालकको घरमा पुगेर आमा पवित्रा सुनारलाई राहत रकम प्रदान गरिएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिएका छन्। चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराइनेछ।
गाउँमा भएको छेवरको भोज खाएर फर्कने क्रममा चितुवाले बालकलाई आक्रमण गरेको थियो। आमासँगै रहेका बेला चितुवाले बालकलाई झम्टेर लिएर गएको थियो। घर नजिकै पुग्ने बेलामा चितुवाको आक्रमणमा परेका बालकको शव घरभन्दा ८० मिटर तल खोल्सामा फेला परेको थियो।
चितुवाको आक्रमणबाट तनहुँमा २० महिनाको अवधिमा नौ बालबालिकाको मृत्यु भइसकेको छ। यसअघि चितुवाको आक्रमणबाट भानु नगरपालिकामा छ, शुक्लागण्डकी नगरपालिकामा एक र आँबुखैरेनी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्दे्शिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिसको मृत्यु भएमा अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने नीति रहेको छ।
यसअघि मृत्यु भएका सबै बालबालिकाका परिवारलाई राहत रकम प्रदान गरिसकेको डिभिजन वन कार्यालयले जनाएको छ। (रासस)