एजेन्सी– इटालियन सिरी ‘ए’ क्लब युभेन्टस तथा जर्मनीका मिडफिल्डर इम्री क्यान जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमन्ड फर्किएका छन्। क्यानलाई २२ मिलियन पाउन्डमा विन्टर सिजनको केही दिन बाँकी रहँदा डर्टमन्डले क्लबमा अनुबन्ध गरेको हो।
क्यानलाई म्यानचेस्टर युनाइटेड, टोटेनहम हस्टपर, आर्सनल र पुर्व क्लब बायर्न म्युनिखले अनुबन्धको लागि चासो देखाएपनि डर्टमन्डले बाजी मारेको हो। डर्टमन्डमा क्यानको सम्झौता लोनमा हो कि स्थायी भन्ने खुलाइएको छैन।
क्यानले युभेन्टसको अफरलाई अस्वीकार गर्दै डर्टमन्ड रोजेको हो। डर्टमन्डले यसअघि नर्वेका १९ वर्षीय युवा प्रतिभा अर्लिङ हाल्यान्डलाई रेडबुल साल्जवर्गबाट अनुबन्ध गरेको थियो। उनले शुरुवाती दुई खेलमा सब्सिच्युट खेलाडीको रुपमा मैदानमा प्रवेश गर्दै ५ गोल गरेर आफ्नो प्रभाव जमाएका छन्।
यससँगै क्यान आफ्नो घर फर्कने भएका छन्। बायर्न म्युनिखबाटै व्यावसायिक करियर शुरु गरेका क्यानले बायर्न म्युनिख र बायर लिभरकुसेनबाट खेलेका थिए। लिभरकुसेनबाट २०१४ मा क्यान इंग्लिस क्लब लिभरपुल पुगेका थिए।
२६ वर्षीय क्यान २०१८ मा लिभरपुल छाड्दै युभेन्टस पुगेका थिए। उनले सिरी ‘ए’ मा मात्रै आठपकट सुरुवातमा मौका पाएका छन्। डर्टमन्ड बुन्डेस लिगाको चौथो स्थानमा छ।