एजेन्सी– भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले एकपछि अर्को कीर्तिमान बनाइरहेका छन्। विश्व क्रिकेटका चर्चित कप्तान विराटले बुधबार फेरि केही कीर्तिमान आफ्नो नाममा बनाउने सम्भावना बढेको छ। अहिले भारत टी–२० क्रिकेट सिरिजका लागि न्यूजिल्याण्डमा छ। उसले सिरिज अन्तर्गत तेस्रो म्याच बुधबार खेल्दै छ। यदि विराटले भोलि (बुधबार) को म्याचमा २५ रन बनाउन सके पूर्वकप्तान महेन्द्रसिंह धोनीको रेकर्ड भंग गर्ने छन्।
भारतका लागि टी–२० मा कप्तानका रुपमा सर्बा्धिक रन बनाउने खेलाडीको सूचीमा अहिले धोनी शीर्ष स्थानमा छन्। उनले टी–२० मा कप्तानका रुपमा १ हजार एक सय १२ रन बनाएका छन्।
यो सूचीमा दक्षिण अफ्रिकाका कप्तान फाफ डुप्लेसिस शीर्ष स्थानमा छन्। उनले कप्तानका रुपमा टी–२० मा १२ सय ७३ रन बनाएका छन्। यस्तै न्यूजिल्याण्डका कप्तान केन विलियिम्सन (११४८) दोस्रो र धोनी (१११२) तेस्रो स्थानमा छन्।
सर्वाधिक अर्धशतक बनाउने वर्तमान कप्तान
बुधबार विराटले सर्वाधिक अर्धशतक बनाउने वर्तमान कप्तानको कीर्तिमान बनाउने सम्भावना पनि बलियो छ। यदि सिरिजको तेस्रो खेलमा अर्धशतक बनाउन सके विराटले केन विलियम्सन र फाफ डुप्लेसिसलाई पछि पार्ने छन्। अहिलेसम्म यी तीनै कप्तानले समान ८ अर्धशतक बनाएका छन्।
सर्वाधिक छक्का प्रहार गर्ने दोस्रो कप्तान
विराटले भोलि सर्बा्धिक छक्का प्रहार गर्ने कप्तानको सूचीमा दोस्रो स्थानमा उक्लिने सम्भावना पनि छ। यदि उनले ७ छक्का प्रहार गर्नसके टी–२० मा सर्बा्धिक छक्का प्रहार गर्ने वर्तमान कप्तानको सूचीमा विराट दोस्रो स्थानमा उक्लिने सम्भावना बढेको हो। उनी बुधबार ७ छक्का प्रहार गरे टी–२० मा ५० अर्धशतक पूरा गर्ने दोस्रो कप्तान बन्ने छन्। यो सूचीको शीर्ष स्थानमा इंग्ल्याण्डका टी–२० कप्तान इओन मोर्गन छन्।