पोखरा– भारतको विभिन्न सहरबाट चलो नेपाल भन्दै ११ सय बुलेटियर्स पोखरामा आएका छन्। पोखराको फेवाफाँट चंखपुरमा शुक्रबारदेखि सुरु भएको मेनियामा भारतका ११ सयसहित १६ सय बढी बुलेटियर्सको सहभागीता थियो। चार दिनसम्म भएको बबएमसी राइडर मेनिया सोमबार सम्पन्न भएको छ।
नेपाल भ्रमण वर्ष २०२० को समेत चलिरहेको अवस्थामा भारत, भुटान र नेपालका गरी यति ठूलो संख्यामा बाइक राइडर (मोटरसाइकल चलाउनेहरू) को भेला पोखरामा भएको हो। भेलामा भारतका विभिन्न क्लबका ११ सय बढीको सहभागीता रहेको आयोजक संस्था फोर नेपाल (फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपाल) का उपाध्यक्ष शेरप शेर्पाले बताए। यस कार्यक्रममा सहभागी हुन भुटानबाट मोटरसाइकलमै ४५ जनाको टोली पोखरा आएको उपाध्यक्ष शेर्पाले बताए। मेनियामा विशेष गरी रोयल इन्फिल्ड बाइक राइडर भेलामा सहभागी भएका थिए। भेलामा क्लासिक, भिन्टेज तथा एडीभी बाइक राइडरसमेत सहभागी भएको बताइएको छ।
सन् २००३ देखि भारतमा बाइक राइडरको मेनिया सुरु भएको थियो। सन् २०१३ देखि यस्तो भेलामा नेपाली बाइक राइडर पनि सहभागीता जनाउँदै आएका थिए। नेपालमा पहिलो पटक यस्तो भेला भएको हो। भारतको राजस्थानमा सन् २०१९ मा भएको बाइक राइडरको भेलाले सन् २०२० मा नेपालमा मेनिया गर्ने सर्वसम्मत निर्णय गरेको उपाध्यक्ष शेर्पाले जानकारी दिए। नेपालमा भएको यस मेनियामा चलो नेपाल ह्यासट्याग प्रयोग गरेर नेपाल भ्रमण वर्ष २०२० को समेत प्रवर्द्धन गरिएको छ। भारतको विभिन्न सहरबाट भारतीय पुरुष तथा महिला मोटरसाइकल चलाएर पोखरा आइपुगेका हुन्।
फोर नेपाल (फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपाल) को आयोजनामा भएको यो राइडर मेनिया १९औं संस्करण हो। (बबएमसी) ब्रदरहुड अफ बुलेटियर्स मोटरसाइक्लिङ कन्सोर्टियमअन्तर्गत बबएमसी राइडर मेनिया प्रत्येक वर्ष आयोजना हुने गर्छ। विभिन्न राइडर क्लबको आयोजनामा राइडर मेनिया हुने गर्छ।
भेलामा नेपाली साँस्कृतिक कार्यक्रम, लाइभ म्युजिक, विभिन्न खेलका प्रतिस्पर्धा भएको थियो। भेला सकिएपछि कार्यक्रममा सहभागी स्वदेशी तथा विलेशी राइडर मुस्ताङसमेत जाने कार्यक्रम छ। कार्यक्रममा सहभागी हुन आएका भारतको बिहारका अभिनास कुमारले नेपालमा भएको भेलामा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताए।
भारतबाट नेपाल मोटरसाइकलमा आउँदा यहाँको पहाड, हिमाल, खोला र जनजीवन प्रत्यक्ष अनुभव गर्दा निकै रमाइलो लागेको उनले सुनाए। नेपाल भ्रमण वर्ष २०२० को अवसरमा भएको यस भेलाले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोगी हुने भारतको बिहारबाट आएकी हर्शा मिश्र र मेरी लुइसले सुनाइन्।