काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले एमसिसीमा पार्टीभित्रको गुट देखिनु सुखद नहुने बताएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै भट्टराईले एमसिसीलाई लिएर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद रहेको संकेत गरे। उनले भने, ‘एमसिसीमा राष्ट्रिय कोणभन्दा पनि गुटभित्रको द्वन्द्व आउनु सुखद विषय होइन। यस्तो विषयमा गहन छलफलको नीति हुनुपर्छ।’
भट्टराईले संसदमा राष्ट्रिय मुद्दामा छलफल नहुने तर झिनामसिना विषयमा छलफल हुने गरेको जनाए। संसद प्रतिपक्षको भएको पनि उनले बताए। ‘संसद प्रतिपक्षकै हो। दमन्नाथ ढुंगानाले भनेर मात्र होइन अन्य मुलुकका पनि अहिले लाइभ संसद बैठक हेर्न मिल्छ,’ उनले भने, ‘संसदमा प्रतिपक्षले प्राथमिकता पाउनुपर्छ।’
उनले शान्ति प्रक्रियाका बाँकी काम छिटै पूरा गर्नुपर्ने कुरामा जोडसमेत दिए। रेशम चौधरीको विषय पनि राजनीतिक घटनाका रूपमा लिएर हल गर्नुपर्ने भट्टराईले बताए। उनले सरकारको एकपछि अर्को भ्रष्ट्राचारका काण्ड बाहिर आइरहेको भन्दै आलोचना गरे।