काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सांसद कोमल ओलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारबाही अगाडि बढाएको आरोप लगाएकी छन्।
राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा उनले जिल्ला प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएको हुँदा अनुसन्धान नै नगरी चार दिन थुन्ने आदेश गर्नु गलत भएको टिप्पणी गरिन्। ‘फौजदारी न्यायको सिद्धान्तले पहिले सुन्ने अनि थुन्ने भन्छ’–सांसद ओलीले भनिन्–‘गैरकानुनी कार्य गरेको छ कि भन्ने कुरा हेरिनुपर्छ। सामान्य भनाभनको विषयमात्र थियो, बिनाअनुसन्धान प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ।’
नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले छिमेकी देश चीनमा ‘कोरोनाभाइरस’ फैलिरहेको हुँदा विशेष सावधानी अपनाउन सरकारको ध्यानाकर्षण गराए। नेकपाका सांसद बलराम बाँस्कोटाले ‘वैज्ञानिक भूमि सुधार र भूमि व्यवस्थापन गर्ने नेकपाको चुनावी घोषणापत्रको कार्यान्वयन कहाँसम्म पुग्यो ’ भन्ने प्रश्न गरे।
सोही पार्टीका सांसद कमलाकुमारी ओलीले उद्योग मन्त्रालयले ‘एक पालिका एक औद्योगिक ग्राम’को अवधारणा अगाडि बढाइरहेको अवस्थामा बढीभन्दा बढी महिलालाई सहभागी गराउन माग गरिन्। राष्ट्रिय जनता पार्टीका सांसद वृषेशचन्द्र लालले लोकतान्त्रिक संसदीय अभ्यासमा सरकार गम्भीर नभएको र संसदमा उठेका प्रश्नको उत्तर नदिएको आरोप लगाए।
नेकपाका सांसद जीवन बुढाले स्थानीय सरकारसँग विकास गर्ने गुरुयोजना नभएको हुँदा संघीय र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए। नेपाली कांग्रेसका सांसद धनकुमारी खतिवडाले वार्षिक रु १० अर्ब कृषि अनुदानका लागि छुट्याइएको भएपनि लक्षित साना किसानसम्म पुग्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराइन्। रासस