म्याग्दी–म्याग्दीको रघुगङ्गा गाउँपालिका–६,कोटगाउँ–रायखोर सडक निर्माणकार्य शुरू भएको छ। गाउँपालिकाको गौरवको योजनाअन्तर्गत रु ५० लाखको लागतमा मङ्गलबारदेखि सडक विस्तार शुरु गरिएको हो। गाउँपालिकाको विकट पाखपानीको रायखोर मूलपानी, उल्लेरी क्षेत्र जोड्ने गरी सडक विस्तार शुरु भएको वडाध्यक्ष मनकुमार शेरपुञ्जा मगरले जानकारी दिएका छन्। पहिलो चरणमा चार किलोमिटरसम्म सडक विस्तार हुने कोटगाउँ–रायखोर सडक निर्माण समितिले जनाएको छ।
सडकखण्डलाई रायखोर हुँदै मुलपानी र वडा नं ८ को ध्याँसीखर्क मङ्गले जोड्ने चक्रपथ बनाउने उपभोक्ता समितिका अध्यक्ष रोशन शेरपुञ्जा मगरले बताएका छन्। उनको अनुसार सडक सञ्जाललाई नमूना बनाउने गरी गाउँपालिकाको सडक मापदण्डअनुसार नै सडक निर्माणको काम शुरु भएको छ।
सडक विस्तारबाट वडा नं ६ र ८ का स्थानीय बासिन्दा लाभान्वित हुनेछन्। सोही सडकखण्डबाट पर्यटकीय तथा धार्मिकस्थल रिखार क्षेत्रसम्म पुग्न सकिने स्थानीयवासीको भनाइ छ। सडकखण्डमा कडा चट्टान भएकाले गाउँपालिकाको बजेटले अपुग हुने भएकाले गण्डकी प्रदेश र सङ्घीय सरकारसँग समेत बजेट माग गर्ने जनाइएको छ।
गाउँपालिकालाई पाखापानी, बेगखोला र दग्नामबाट चक्रपथ बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताएका छन्। उनको अनुसार भौगोलिकरूपमा विकट तथा चट्टानका कारण सानो बजेटमा सम्भव नभएकाले गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गर्ने तयारी गरेको छ। उनले सडकसँगै विद्युत्लगायतका थप केही योजनाहरु दुई वर्ष्भित्र नपुगेका सबै बस्तीमा पुग्ने बताएका छन्। रासस