पाल्पा – पाल्पामा युवाहरुलाई कृषि व्यवसाय गर्न कृषिमा अनुदान रकम प्रोत्साहनस्वरूप उपलब्ध गराइएको छ। अनुदान रकमले केहीले सही ठाउँमै राम्रै सदुपयोग गरेका छन् त केहीले अनुदान लिनका लागि मात्र व्यवसाय गरेको पाइएको छ।
यसबाट राज्यले जुन उद्देश्यले बजेट दिएको छ सोअनुसार सही ठाउँमा उपयोग नभएको रामपुरका कृषकको गुनासो छ। रामपुर नगरपालिका–४ को कार्यालयले आयोजना गरेको कृषकसँगको अन्तरक्रिया कार्यक्रममा कृषकले अनुदानको ठाउँमा प्रविधिको माग गरेका छन्।
कृषकलाई अनुदानमुखी नभई प्रविधि सिकाएर व्यवसायमुखी बनाउन सकियो भने कृषि व्यवसायबाट मनग्य आम्दानी लिन सक्ने अगुवा कृषक दिलबहादुर थापाले बताएका छन्। ‘अनुदानले व्यवसायमुखीभन्दा पनि के पाइन्छ कति पाइएला भन्नेमा मात्र सीमित बनायो, कृषकलाई अनुदानको ठाउँमा खेती गर्ने प्रविधि आवश्यक छ’,उनले भने। उनले जग्गा भाडामा लिएर करिब दश रोपनीभन्दा बढी जग्गामा तरकारी खेती गरेका छन्।
विदेशबाट फर्केर तरकारीखेती शुरु गरेका थापाले आफूले खेती गर्ने प्रविधि नजान्दा व्यवसायमा समस्या पर्ने गरेको बताएका छन्। धेरैजसो कृषकले प्रविधि नबुझेर खेती गर्दा लागत अनुसारको उत्पादन लिन नसकेको अर्का कृषक विनोद श्रेष्ठ बताउछन्। जानी नजानी बिनाप्रविधि व्यवसाय शुरु गर्दा उत्पादन लिन नसकेको श्रेष्ठको भनाइ छ।‘कृषकले अनुदानमा लोभिएर व्यवसाय गर्दा अनुदान अवधि सकिने बित्तिकै व्यवसायबाट पलायन भएका छन्, अनुदानभन्दा पनि व्यवसाय गर्ने नयाँ तरिका सिकाउन सके त्यसबाट दीर्घकालीन प्रतिफल लिन सकिन्छ’, उनले भने।
अन्तरक्रिया कार्यक्रममा सहभागी कृषकले वास्तविक कृषकले सेवा सुविधा नपाउने र टाठाबाठा कृषकको मात्र अनुदानमा हालीमुहाली रहेको बताए। अनुदानमा वास्तविक कृषकलाई भन्दा पनि आफन्त र नजिकका व्यक्तिहरुलाई नै पटकपटक छनोट गरिँदा अनुदानको अवधिभर मात्र व्यवसाय गर्ने र अनुदान अवधि सकिएपछि व्यवसाय पनि छाड्ने क्रम बढेको छ। वास्तविक कृषक पहिचान हुनुपर्ने कृषकको माग छ।
साना कृषकलाई उपेक्षा र नक्कली कृषकको अनुदानमा हालीमुहाली भएका कारण उत्पादकत्व नबढेको अन्तरक्रियामा सहभागीले बताएका छन्। अब रामपुर नगरलाई समृद्ध बनाउन साना र वास्तविक कृषकको संरक्षण हुनुपर्ने कृषकको सुझाव छ। नगरपालिकाले एक वडा एक उत्पादन नीति ल्याएको छ। कृषकलाई प्रविधिमा दक्ष बनाउन र नयाँ कुरा सिकाउन ठूलो क्षमताको उच्च प्रविधिको–हाइटेक टनेल निर्माण गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताएका छन्।
‘युवाहरुलाई यहीँ बसेर कृषि व्यवसाय गर्न प्रोत्साहन गर्दै प्रविधि सिकाउन हाइटेक बनाएका छौँ, यसबाट प्रत्यक्ष धेरै ज्ञान सीप सिकेर खेती गर्न कृषकलाई सहयोग मिल्नेछ’, नगर प्रमुख थापाले भने। कृषकलाई आवश्यक पर्ने प्रविधि तथा ज्ञान सीप उपलब्ध गराउने र उत्पादित तरकारीले बजार नपाएमा नगरपालिकाले बिक्रीको प्रबन्ध मिलाइदिने नगर प्रमुख थापाले बताएका छन्।
नगरपालिका तथा वडा कार्यालयबाट कृषि अनुदान सुविधा लिएका कृषकको व्यवसाय अनुगमन गर्ने र उद्देश्यअनुसार नगरेको पाइएमा सेवा सुविधा कटौती गर्ने प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले बताएका छन्। वडा नं ४ को कार्यालयले वडाका टोलटोल बस्तीबस्तीमा पुगेर कृषकको व्यवसाय अनुगमन गरेर मात्र विभिन्न कृषि सामग्री तथा बीउविजन वितरण गर्ने गरिएको वडाध्यक्ष एकबहादुर नेपालीले बताएका छन्।
व्यवसायमा हौसला प्रदान गर्न कृषि सामग्री, बीउविजन सहयोग र विभिन्न बाली लगाउने तरिका, गोडमेल, उत्पादन र बजारीकरणका सम्बन्धमा कृषि प्राविधिक बोलाएर कृषकलाई तालीम दिने गरेको अध्यक्ष नेपाली बताउँछन्। रासस