एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको निर्णायक गोलमा एसी मिलान कोपा इटालिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ। मिलानले अतिरिक्त समयमा टोरिनोमाथि ४–२ को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो।
घरेलु मैदानमा मंगलबार राति भएको खेलमा मिलानको जितमा हकान कल्हानोग्लुले दुई तथा जियाकोमो बोनाभेन्टुरा र ज्लाटनले समान १ गोल गरे। टोरिनोका ग्लेइसेन ब्रेमेरले दुवै गोल गरेपनि हार टार्न सकेन।
खेलको १२औं मिनेटमा जियाकोमो बोनाभेन्टुराले एन्टी रेविको पासमा गोल घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ३५औं मिनेटमा ग्लेइसेन ब्रेमेरले सिमोन भर्डीको पासमा गोल गरेपछि पहिलो हाफ गोलको बराबरीमा टुंगिएको थियो।
७१औं मिनेटमा ग्लेइसेन ब्रेमेरले ओला एइनाको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि टोरिनो खेलमा अघि बढेको थियो। ९०औं मिनेटमा हकान कल्हानोग्लुले गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याएला थिए।
अतिरिक्त समयको १६औं मिनेट (१०६) मा हकान कल्हानोग्लुले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई खेलमा ३–२ ले अघि बढाए। त्यसको दुई मिनेटपछि ज्लाटनले गोल गर्दै मिलानलाई ४–२ को जित दिलाए। खेलदौरान दुर्घटनामा ज्यान गुमाएका बास्केटबल खेलाडी कोबी ब्रायन्टलाई पनि श्रद्दान्जली अर्पण फरिएको थियो। कोबी मिलानका समर्थक रहेका थिए।
अब सेमिफाइनलमा मिलानले इटालियन च्याम्पियन युभेन्टसको सामना गर्नेछ। युभेन्टसले यसअघि रोमालाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। अर्काे सेमिफाइनलमा नेपोलीले इन्टर मिलान वा फियोरेन्टिनाबीचको विजेतासँग खेल्नेछ। नेपोलीले लाजियोलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।