काठमाडौं – चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ। चीनका अधिकारीहरुको अनुसार यसबाट करिव ६ हजार संक्रमित भएका कारण मृतककाे संख्यामा वृद्दि हुने छ।
अहिलेसम्म ५ हजार ९ सय ७४ जना कोरोनाबाट संक्रमित भएका छन भने ९ हजार २ सय ३९ जनालाई संक्रमणको आशंका गरिएकाे बताइएकाे छ। कुनै न कुनै रुपमा ६ करोड चिनियाँहरु कोरोना भाइरसबाट प्रभावित भएका छन्।
कोरोना भाइरसबाट संक्रमितको उपचार तथा संक्रमण रोक्ने प्रयासका लागि १० लाख भन्दा बढी स्वास्थ्यकर्मी खटिएका छन्। आइतबारदेखि उद्भव बिन्दु मानिएको वुहानमा निजी गाडी संचालनमा प्रतिबन्ध लगाइएको छ। यसको संक्रमण रोक्ने प्रयास स्वरुप एक हजार शैयाको छुट्टै नयाँ अस्पताल निर्माणाधिन छ।
यो संक्रमण रोक्नको लागि अनेकौं प्रयत्न गर्दा महामारी नहटेपछि नागरिकको आन्तरिक तथा बाह्य भ्रमणमा चीनले रोक लगाएको छ। गत डिसेम्बरमा चीनमा देखिएको कोरोना भाइरस १६ वटा मुलुकमा फैलिएको छ।