काठमाडौं — सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रिय समिति बैठक राष्ट्रियसभा गृहमा सुरु भएको छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक जम्बो केन्द्रीय समितिको बैठक बसेको हो।
बैठकमा सहभागिताका लागि अधिकांश केन्द्रीय सदस्य राष्ट्रियसभा गृहमा भेला भएका छन्। हाल नेकपा केन्द्रीय समिति ४ सय ४६ सदस्यीय छ। बैठकमा आजै अर्का अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। यसअघि स्थायी समितिमा पेस गरिएको प्रतिवेदनलाई नै प्राप्त सुझावसहित पेस गर्न लागिएको हो।
अध्यक्षले विभिन्न एजेन्डासहित पेस गर्ने प्रतिवेदन सदस्यलाई वितरण गरिने छ। वितरित प्रतिवेदनमाथि भने बिहीबारबाट मात्रै छलफल गर्ने तयारी नेकपाको छ। नेकपा स्रोतका अनुसार, बैठक आगामी माघ २२ गतेसम्म सञ्चालन हुनेछ।