काठमाडौं– निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा ‘सर्भिस सेन्टर’ निर्माण गरिने भएको छ। स्थानीयवासीलाई सहज हुने गरी सो स्थानमा पार्किङ, स्थानीय उत्पादन बिक्री केन्द्रलगायतका लागि कक्ष निर्माण हुने बताइएको छ।
सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग गर्ने र कमजोर ढुङ्गा माटोलाई सर्भिस सेन्टर निर्माणमा प्रयोग गरिने सडक विभाग र विकास समन्वय कार्यन्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताएका छन्।
सिस्ने खोलामा प्रयोगमा नआएका सामग्री भरेर सोही स्थानमा सर्भिस सेन्टर निर्माण गरिनेछ। केन्द्रको निर्माण सम्पन्न भएपछि धुनिबेँसी नगरपालिकालाई नै हस्तान्तरण गरिनेछ। जापानमा ठाउँठाउँमा यस्ता केन्द्र हुने हुँदा निर्माण कम्पनीले सोही अनुसार केन्द्र निर्माण गर्न लागेको हो।
उनले भने, ‘केन्द्रबाट सेवा शुल्क उठाएर नगरपालिकाले आर्थिक उपार्जन गर्ने र त्यसैको व्यवस्थापनमा खर्च गर्न सक्नेछ।’ सुरुङमार्गसँगै एउटै परियोजनामा निर्माण हुने दुई ‘फ्लाई ओभर’ पनि नेपालमा पहिलो हुनेछन्। यसको निर्माणसम्पन्न हुँदा काठमाडौँ प्रवेशमार्गमा हुने सवारी जाम हट्ने विश्वास गरिएको छ।
सुङमार्ग निर्माण ४२ महिनाको अवधिमा सम्पन्न गर्ने गरी हाजमा आङदो कर्पाेरेशन र नेपाल सरकारबीच सम्झौता भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ४ गते सुरुङमार्गको शिलान्यास गरेसँगै यसको निर्माण अघि बढेको छ।
निर्माणस्थलमा अहिले सरकारले जग्गा अधिग्रहण गरिरहेको छ भने निर्माण कम्पनीले निर्माणको काम शुरु गरिसकेको छ। जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका) ले गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा सुरुङमार्गको लगानी आगामी सात वर्षमा उठ्ने उल्लेख छ। (रासस)