रुकुमपुर्व– यहाँ यस वर्ष रु ७० लाख बराबर सुन्तला उत्पादन भएको छ। अनुमानित रु ४० लाख बराबरको सुन्तला बिक्री भइसकेको छ भने रु ३० लाख बराबरको सुन्तला अझै पनि बिक्री हुन बाँकी रहेको सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष खर्क्सिंह थापाले जानकारी दिएका छन्।
सिस्नेका वडा नं ७ र ८ का झिमखोला, लम्पाकोट, भुरुङ्गा, स्यालापाखा, सानचौर, गोठिचौरलगायत ठाउँमा सुन्तला उत्पादन हुने गर्दछ। यस क्षेत्रमा गत वर्ष पनि रु ८० लाख बराबरको सुन्तला उत्पादन भएको थियो। गत वर्षको तुलनामा सुन्तला उत्पादनमा केही कमी आएको कृषकले बताएका छन्।
विभिन्न रोगका कारण सुन्तला उत्पादन घट्दै गएको उनीहरुको भनाइ छ। सुन्तला राम्रो उत्पादन भए पनि यहाँको सुन्तलाले बजार भने पाउन सकेको छैन। ढुवानी र बजार समस्या हुने गरेकाले यहाँको सुन्तला कुहिएर खेर गइरहेको कृषकले जनाएका छन्। बारीमा उत्पादित सुन्तला जिल्ला सदरमुकाम रुकुमकोट, दाङ र रुकुम (पश्चिम) को सदरमुकाम मुसिकोटसम्म पुग्ने गरेको छ।
डोकामा बोकेर बिक्रीका लागि सुन्तला बजारसम्म पु¥याए पनि राम्रोसँग नबिक्ने र कसैले किने पनि सोचेजस्तो मूल्य नपाउने गरेको कृषकको गुनासो छ। गत वर्ष धेरै सुन्तला कुहिएर खेर गएका वडा नं ८ का वडा सदस्यसमेत रहनुभएका सुन्तला कृषक महेश विकले बताएका छन्।
अहिले गाउँमा कृषि सडक पुगेसँगै सुन्तला ढुवानीमा केही मात्रामा सहज भएको उनको भनाइ छ। यसैगरी सोही ठाउँमा अर्का रामकुमार पुनले यस वर्ष सुन्तलाबाटै रु पाँचदेखि सात लाखसम्म आम्दानी गरेको बताएका छन्। यस्तै अर्का सुन्तला उत्पादक किसान गोपाल पुनले पनि सुन्तला उत्पादनबाटै रु चार लाख आम्दानी गरेको जानकारी दिए।
‘उत्पादित सबै सुन्तला बिक्री हुने भए आम्दानी पनि अझै बढ्न जान्थ्यो’, उनले भने, ‘समयमै सुन्तलाले बजार पाउँदैन, सङ्कलनका लागि गाउँमा चिस्यान केन्द्र छैन।’ परम्परागत शैलीमै सल्लाको कुसुम र पराललमा सुन्तला राख्दा आधा सुन्तला कुहिएर खेर जाने गरेको उनको भनाइ छ। सुन्तला उत्पादनबाट राम्रो लाभ लिन सक्ने भए पनि पछिल्लो चरणमा भने विभिन्न रोगका कारण उत्पादनमा कमी आएको कृषक बताउँछन्।
सुन्तला खेती फस्टाउन स्थानीय सरकारले पनि प्राविधिक तथा रोग पहिचान गरेर निराकरणका लागि सहयोग गर्नुपर्ने किसानको माग छ। सिस्ने–८ लाई सुन्तलाको पकेट क्षेत्र पनि घोषणा गरिएको छ। उक्त क्षेत्रलाई प्रदेश नं ५ सरकारले कृषि स्मार्ट गाउँ पनि घोषणा गरेर काम अगाडि बढाएको छ। (रासस)