एजेन्सी– इटालीको एक शहरले जम्मा १ सय २६ रुपैयाँमा घर बेच्न थालेको छ। इटालीका गाउँहरूले त्यति नै रुपैयाँमा घर बेच्ने योजना ल्याएपछि अब शहरले पनि यसो गर्न थालेको हो। मानिसहरू शहरमा आएर सेटल हुन् भनेर तारान्तोले सस्तो मूल्यमा घर बेच्न थालेको हो।
दक्षिणी इटालीको दुर्गम बन्दरगाह शहर तारान्तोको जनसंख्या विगत केही वर्षयता घटिरहेको छ र स्थानीय अधिकारीहरूले उक्त क्षेत्रलाई जीवन्त बनाउने आशा गरेका छन्। नगर परिषद्ले शहरमा सस्तो दरमा घर बेचेर २५ हजार स्थायी निवासी भित्र्याउने लक्ष्य लिएको छ।
उन्नाईसौं शताब्दीमा यो ऐतिहासिक प्राचीन शहरको जनसंख्या ४० हजार थियो तर अहिले त्यो घटेर तीन हजारमा झरेको छ।स्थानीय अधिकारीहरूले बनाएको योजनाअनुसार शुरूमा पाँचवटा घर एक युरो अर्थात् १ सय २६ रुपैयाँमा बेचिँदैछ। पहिलो लटका घरहरू बिकेमा थप घरहरू बेच्ने योजना छ।
एक युरोमा घर बेच्ने योजनाको शुरूआत सिसिलीको गांगी शहरमा सन् २०११ मा गरिएको थियो। त्यसयता १ सय ५० भन्दा बढी भवनहरू पुनर्निर्माण गरिसकिएका छन् र नयाँ मानिसहरू आएर शहरलाई जीवन्त बनाएका छन्।