एजेन्सी – बलिउड अभिनेत्री प्रियंका चोपडाले पछिल्लो समय आफूलाई हलिउडमा पनि स्थापित गराएकी छिन्। अमेरिकन टेलिभिजन सो ‘क्वान्टिको’बाट चर्चा कमाएकी उनले हलिउड फिल्म ‘बेवाच’मा ड्वेन जोनसनसँग स्क्रिन सेयर गरेकी थिइन्। त्यसपछि प्रियंकाले ‘अ किड लाइक जेक’ र ‘इजन्ट इट रोमान्टिक’लगायतका हलिउड फिल्ममा अभिनय गरिन्।
गायक निक जोनससँग बिहे गरेपछि हलिउडमा प्रियंकाको छुट्टै चर्चा छ। अब प्रियंका हलिउडको लोकप्रिय मानिने ‘म्याट्रिक्स’को फ्रेन्चाइजमा देखिने भएकी छिन्। ’म्याट्रिक्स’को चौथो श्रृङ्खलामा उनी अनुबन्धित भएकी हुन्।
‘म्याट्रिक्स’ श्रृंखलाका अन्य फिल्मजस्तै यसमा पनि एक्सन स्टारकेनु रिब्स मूख्य भूमिकामा हुनेछन्। लाना वाच्वस्कीले निर्देशन गर्ने फिल्म आगामी मे २१ मा प्रदर्शनमा आउने भएको छ। पछिल्लो समय बलिउड फिल्म ‘स्काई ईज पिंक’मा देखिएकी प्रियंकाका हातमा यो वर्ष नेट्फ्लिक्सका दुई प्रोजेक्ट ‘द ह्वाइट टाइगर’ र ‘वी क्यान बि हिरोज’ छन्।
अमेजनको रियालिटी सिरिजमा उनी पति निकसँग देखिँदैछिन्। मेन्डी केलिङले निर्देशन गर्ने बायोपिक फिल्ममा पनि उनको अभिनय रहने बताइएको छ।