एजेन्सी– भारतीय चलचित्र क्षेत्रका प्रसिद्ध अभिनेता सलमान खानको नयाँ फिल्म राधे आउँदैछ। जसमा राधे को क्लाइमेक्स दृष्यका लागि मात्रै १२ करोड रूपैयाँ खर्चिएको मिडडेमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ।
समाचारका अनुसार जम्मा २० मिनेटको रहेको यो दृष्यका लागि मात्रै सो रकम खर्च भएको हो। यो दृष्यमा सलमानका साथ रन्दीप हुडा हुने बताइएको छ। क्लाइमेक्स २० मिनेटको दृष्यको खर्चका बारेमा निर्देशक प्रभु देवा र सलमान खानले पहिल्यै छलफल गरेका बताइएको छ। उनीहरूले भारू ७ करोडको अनुमान लगाएका थिए।
क्लाइमेक्सको दृष्य क्रोमा की प्रविधिबाट खिचिएको र भिएफएक्स मा डिजाइन हुने भएकाले लागत बढी परेको समाचारमा उल्लेख गरिएको छ।
धेरै बजेट भएका फिल्म निर्माताले मात्र क्रोमा की प्रविधिको प्रयोग गर्न सक्छन्। जसमा भिडियाको पृष्ठभूमि हरियो वा निलो हुन्छ जुन एकदमै महँगो हुन्छ। साथै यसमा प्रयोग हुने बत्तीहरूको लागत पनि धेरै पर्छ।
भिएफएक्सबाट फिल्ममा देखाइने काल्पनिक दृष्यहरूलाई सुन्दर तरिकाले राख्न सकिन्छ। मान्छे उडेको, बम ब्लाष्ट गरिएको, रगत निस्किएको, भित्ता फोडिएको जस्ता र अदभूत लाग्ने दृष्यहरू लाई भिएफएक्सबाट गराइन्छ।
साथै फिल्ममा आवश्यक नरहेको दृष्यलाई भिएफएक्सबाट सजिलै हटाउन सकिन्छ। यो पनि महँगो प्रविधिमा पर्छ। साउथ इण्डियन फिल्म बाहुबली को दुवै भागमा यो प्रविधि प्रयोग भएको थियो।
हिन्दुस्तान टाइम्सका अनुसार राधे फिल्मको फाइनल दृष्य दुबईमा खिचिएको छ। बाँकी दृष्य दिल्ली, कोलकाता, जयपुर, लखनउमा र केही एक्सन दृष्य स्टुडियोमै खिचिएको छ। फिल्ममा दिशा पटानी, ज्याकी श्रफ र तामिल अभिनेता भरतको मुख्य भूमिका छ।