चन्द्रौटा – सीमा क्षेत्रमा क्रियाशील रहेका सङ्घसंस्थाले मानव बेचबिखनलाई कमी ल्याउन सकेका छैनन्। कपिलवस्तुको सीमा क्षेत्र कृष्णनगर नाका हुँदै भारतमा नेपाली युवतीको ओसारपोसार तथा बेचबिखन हुने गरेको छ। चन्द्रौटा हुँदै भारत प्रस्थान गर्ने सडकमा जाँच र परामर्श हुने गरेको छ।
गत वर्षको तुलनामा दोब्बर सख्यामा उद्धार गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालयमा आव २०७५७६ मा तीन मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता भएका छन। सोमा दुई मुद्दा फछ्र्योट भएका छन्। चालू आर्थिक वर्षका छ महिनामा दुईवटामात्र मुद्दा दर्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपशमशेर जबराले बताएका छन्।
आव २०७४७५ मा सीमा क्षेत्रमा रहेका शान्ति पुनःस्थापनागृह र आफन्त नेपाल संस्थाले १ सय ७९ को उद्धार गरिएको थियो भने ०७५७६ मा २८९ लाई उद्धार गरेको जनाएका छन्। कृष्णनगरबाट भारत जाने दुई गेटमा जाँच हुने गर्दछ। महिला तथा शङ्कास्पद देखेमा उनीहरुलाई सोधपुछ गर्ने गरिएको छ।
युवतीलाई विभिन्न प्रलोभनमा पारी भारत हुँदै तेस्रो मुलकसमेत लैजाने गरेको पाइएको छ। करीब १५ देखि ३० वर्ष उमेर समूहका महिला र बालबालिका बढी जोखिममा रहेका शान्ति पुनःस्थापना गृहका जिल्ला संयोजक भूमि भट्टराईले बताएका छन्। संस्थाको नेतृत्वमा भारतका विभिन्न ठाउँबाट १० नेपाली नागरिकको उद्धार गरेको उनले बताए।
कृष्णनगर हुँदै जाने महिला गाउँस्तरका रहेकाले दाङ, प्यूठान, रोल्पा, अर्घाखाँची, गुल्मीलगायत जिल्ला बढी जोखिममा रहेका उनले बताएका छन्। स्थानीय तहले मानव बेचबिखन नियन्त्रणका लागि कुनै योजना बनाएका छैनन्। शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारूले महिलालाई सचेत बनाउनुपर्ने बताए।
बेखबिखनको मुख्य कारण बेरोजगारी रहेको भन्दै नगरपालिकाले सीपमूलक तालीमलाई जोड दिएको उनको भनाइ छ। बेचबिखनमा संलग्न दलालले खुला सिमाना रहेको पश्चिमका नाका प्रयोग गर्दै आएका छन्। (रासस)