काठमाडौं – सरकारले रसुवाको रसुवागढी नाका र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट पर्यटक आवतजावतमा १५ दिनका लागि रोक लगाएको छ। चीनमा कोरोना भाइरस फैलिएपछि सरकारले पर्यटक आवतजावत गर्न रोक लगाएको हो।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार चीनमा कोरोना भाइरस फैलिएकाले माघ १५ गतेदेखि ३० गतेसम्म बन्द गरिएको हो। ‘चीनमा ल्होसार पर्व पनि चलेसँगै बाटो पनि मर्मत भइरहेकाे हुँदा राेक लगाएकाे प्रवक्ता शर्माले बताए।
कोरोना भाइरस मानिसबाट मानिसमा सजिलै सर्ने भएका कारण चीनबाट नेपाल आउने पर्यटकको आवागमन बन्द गरिएको हो। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य सीमामा चिनियाँ पर्यटकलाई स्वास्थ्य परीक्षण गरेर मात्र भित्र्याइने गरिएको छ।
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ भने करिव ६ हजार संक्रमित भएका छन्।