एजेन्सी– जापानी मोटरसाइकल निर्माता कम्पनी सुजुकीले आफ्नो चर्चित मोडल भि स्ट्रोमलाई २५० सीसी क्षमतामा उत्पादन गर्ने भएको छ। अगामी फेब्रुअरी देखि सुरु हुने अटो एक्स्पो २०२० मा जापानी मोटरसाइकल निर्माता कम्पनीले उक्त मोटरसाइकल प्रदर्शन गर्ने भएको हो।
यो मोटरसाइकल कम्पनीले भारतीय बजारमा यही बर्षदेखि बिक्री समेत गर्ने अनुमान गरिएको छ। एडभेन्चर टुरर मोटरसाइकल निर्माण गर्ने ट्रेण्ड सुरु भएको समयमा सुजुकीले पनि २५० सीसी एडभेन्चर मोटरसाइकल ल्याउन लागेको हो। केही समय अगाडि यामाहा, केटीए, बजाज जस्ता ब्राण्डले २५० सीसी सेग्मेन्टमा एडभेन्चर मोटरसाइकल निर्माण गर्ने घोषण गरेका थिए।
सुजुकी भि स्ट्रोम सिरिज ग्लोवल मार्केटमा लोकप्रिय एडभेन्चर मोटरसाइकल हो। नेपालमा पनि भिआईपी सवारीमा प्रयोग गर्न भन्दै नेपाल प्रहरीले भि स्ट्रोम ६५० खरिद गरेको थियो।
भि स्ट्रोम २५० एडभेन्चर भि स्ट्रोम ६५० बाट सिधा प्रभावित रहेको छ। यसमा २४८ सीसी लिक्विड कुल्ड, फोर स्ट्रोक, प्यारलल ट्वीन इन्जिन रहेको छ। यो इन्जिनले २५ पीएस पिक पावर तथा २३.४ एनएक पिक टर्क जेनेरेट गर्छ।
यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ। कम क्षमताको भि स्ट्रोममा १७ इन्च अलोय ह्वील, राउन्ड हेडल्याम्प, डबल डिस्क, एबीएस, फ्रन्ट विन्डसिल्ड, डिजिटल कन्सोल जस्ता फिचर दिइएको छ। कम्पनीले ल्याउने कम सीसीको भि स्ट्रोमको मूल्य २ लाख ३० हजार भारतीय रुपैयाँमा तोक्ने अनुमान गरिएको छ।