एजेन्सी– आगामी फेब्रुअरी ६ तारिखबाट भारतमा सुरु हुने अटो एक्स्पो २०२० मा मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक कार ‘फ्यूचरो–इ’ सार्वजनिक गर्ने भएको छ।
भारतीय बजारमा टाटा, महिन्द्रा, हुन्डाई र एमजीले आफ्नो इलेक्ट्रीक कार बिक्री गरिरहेको समयमा मारुतीले ल्याउने नयाँ कारको मूल्य यी सबै मोडलका भन्दा कम रहने अनुमान गरिएको छ।
अहिलेको प्रारम्भिक अनुमान अनुसार यसको मूल्य ७ लाख भारु रहने छ। अहिलेसम्मको अनुमान सहि सावित भएको खण्डमा मारुती सुजुकीको पहिलो इलेक्ट्रीक कार वागेनआर बेसमा निर्माण हुनेछ। यसको प्रडक्सन भर्सन हेर्न भने अब केही दिन कुर्नु पर्ने हुन्छ।
कम्पनीले विगत एक वर्षदेखि विभिन्न स्थान र फरक हावापानी भएका ठाँउमा यसको परिक्षण गरिरहेको थियो। कम्पनीले जनाएअनुसार घरायसी प्रयोग हुने १५ एम्पायरको सकेटबाट यसलाई सजिलै चार्ज गर्न सकिने छ। यसमा दिइएको लिथियम आयोन व्याट्रीले एक पटकको फुलचार्जमा २०० किलोमिटर रेञ्ज प्रदान गर्ने जनाइएको छ।