काठमाडौं– चन्द्रागिरि नगरपालिकाले मदिरा, लागुऔषध र जुवातासविरुद्ध विशेष अभियान सञ्चालन गरेको छ।
नगरपालिकाका प्रमुख घनश्याम गिरीको संयोजकत्वमा बुधबार नगरपालिकामा बसेको ‘समुदाय–प्रहरीपालिका समिति’को बैठकले मदिरा, लागुऔषध र जुवातासविरुद्ध विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकले अवैध घरेलु मदिराको व्यावसायिक उत्पादन बिक्री वितरण तथा ओसारपसार तथा मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकविरुद्ध कारवाही गर्ने निर्णय गरेको छ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले नगरपालिकाको शान्ति सुरक्षाका लागि नगरपालिकाले नै नेतृत्व लिएर राम्रो कामको थालनी गरेको बताएका छन्। ‘चन्द्रागिरिको शान्ति सुरक्षा कायम राख्न थानकोट वृत्तले समेत सहयोग गर्छ’, उनले भने।
बैठकले लागुऔषध सेवनविरुद्ध विशेष स्विप अप्रेशन सञ्चालन गर्ने, लागुऔषध कारोवारी तथा ओसारपसारमा संलग्नलाई कानूनबमोजिम कारवाही गर्ने र लागुऔषध प्रयोगकर्ता र प्रयोगकर्ताको अभिभावकलाई नियमित रूपमा मनोसामाजिक विमर्श कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले लागुऔषध सेवन गरी सवारीसाधन चलाउने जोसुकै चालकलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम कारवाही गरिने बताएका छन्। (रासस)