विराटनगर– विराटनगर महानगरपालिकाले नगरवासीलाई खानेपानी उपलब्ध गराउन ‘एक घर–एक धारा’को व्यवस्था गर्ने भएको छ। विराटनगर महानगरपालिकाले जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका) र नेपाल खानेपानी संस्थानसँग सहकार्यमा विभिन्न चरणका अध्ययन र अनुसन्धान गर्ने काम सम्पन्न गरेको छ।
यसबाट आगामी केही वर्ष्भित्रै नगरवासीको एक घर–एक धाराको सपना पूरा हुने अपेक्षा गरिएको छ। महानगरका प्रमुख भीम पराजुलीको सक्रियतामा विगतदेखि नै सो कामको शुरुआत गरिएको थियो। यसैक्रममा जाइकाले तयार गरेको प्रथम चरणको विस्तृत अध्ययन प्रतिवेदन र प्रगति प्रतिवेदन बुधबार यहाँ प्रस्तुत भएको छ।
महानगर र जाइकाको परामर्शदाता याचियो इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेडले संयुक्तरुपमा सो कार्य सम्पन्न गरिएको हो। जाइका मुख्य कार्यालयका प्रतिनिधि योसीआकी योकोता र हिरोसी कुवोता साथै परामर्शदाता प्रमुख कात्सुमी फुजीको नेतृत्वमा आएको चार सदस्य टोलीले विराटनगरमा आफ्नो कार्य शुरु गरेको छ।
एक घर–एक धाराको अवधारणासहित नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने आफ्नो सपना रहेको भन्दै प्रमुख पराजुलीले पूर्ण विश्वासका साथ कार्यमा जुटेको जानकारी दिएका छन्। विराटनगरमा विगत ६० वर्षभन्दा अगाडिका खानेपानीका पाइप जीर्ण अवस्थामा रहेका छन्।
ती पाइपमा टुटफुट हुँदा कतिपय स्थानमा फोहर पानी पिउन नगरवासी बाध्य भएका छन्। फोहर पानीको कारण फैलिएको कमलपित्तका कारण विगतमा विराटनगरका १३ अकालमा ज्यान गुमाउनुपरेको थियो। महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले शुद्ध खानेपानी घरघरमा पु¥याउने योजनालाई सफल बनाउन द्रुतगतिमा काम थाल्न सम्बन्धित सबै पक्षलाई आग्रह गरे। (रासस)