कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा सार्दीखोला बाँझखेत देउराली हुँदै कोलचोक भुर्जुङखोला सहायक मोटरबाटोको स्तरोन्नति गर्ने कार्य शुरुआत भएको छ।
प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय कास्कीको रु ३४ लाख ९३ हजार लागतमा नालासहितको ग्राभेल सडक निर्माण कार्यको बुधबार गण्डकी प्रदेशसभाका सदस्य रामजीप्रसाद बरालले शिलान्यास गरे। विसं २०६२ मा सडकको ट्रयाक खोलिएकोमा पहिलोपटक सात मिटर सडक र एक मिटर नालासहित आठ मिटर फराकिलो स्तरीय सडक निर्माण कार्य शुरु गरिएको हो।
सार्दीखोला खारपानी सडकको सहायक सडकका रुपमा रहेकाले यसबाट गण्डकी रेन्बो ट्राउट जाने आन्तरिक तथा बाह्य पर्यटकका लागिसमेत सुविधा पुग्ने विश्वास गरिएको छ। त्यसैगरी सार्दीखोला, घलेखर्क हुँदै सिक्लेस पुग्ने आन्तरिक तथा बाह्य पर्यटकसमेत यसबाट लाभान्वित हुनेछन्।
सार्दीखोलामा रहेको ट्राउट पोखरा तथा देशभर अहिले प्रख्यात छ। सडकको ट्रयाक खुलेको लामो समयदेखि मर्मत हुन नसकेको मुख्य बस्तीको सडक स्तरोन्नति गरी फराकिलो बनाउने कार्य शुरु भएसँगै स्थानीयवासी खुशी भएका छन्।
सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष माधव आचार्यले घर अगाडिको सडक वर्षौंदेखि जीर्ण रहेकोमा प्रदेश सरकारबाट बजेट विनियोजन भएर स्तरोन्नतिको कार्य शुरु भएपछि आफूहरुमा उत्साह जागेको बताएका छन्।
प्रदेशसभा सदस्य बरालले समृद्ध नेपाल निर्माणको जग हाल्ने कार्य शुरु भएको र देशभर पूर्वाधार विकासको कार्यले गति लिएको बताए। माछापुच्छ्र्रे वडा नं २ र ३ जोड्ने गरी सेतीनदीमाथि आकर्षक पुल निर्माण कार्य यसै वर्ष शुरु हुने भएकाले सार्दीखोलावासीलाई गाउँपालिकाको केन्द्र पुग्न सहज हुने उल्लेख गरे।
उच्च अदालत पोखराका न्यायाधीश विनोदमोहन आचार्यले सडक स्तरोन्नतिको क्रममा सानो मन नगर्न स्थानीयलाई आग्रह गर्दै अहिले थोरै सडक बाटोका लागि प्रयोग भए पनि पछि त्यसको मूल्य बढी हुने स्पष्ट पारे।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, पूर्वाधार विकास कार्यालयका प्रमुख शोभियत खड्का, पूर्व गाविस अध्यक्ष हर्कबहादुर क्षत्रीलगायतले समयमै निर्माण कार्य पूरा भएर स्थानीयलाई सहज हुनेमा विश्वास व्यक्त गरेको थियो। (रासस)