काठमाडौं – अत्यधिक दोहनका कारण चुरे विनाश भइरहेकाले त्यसलाई रोक्नुपर्ने सरोकारवालाले जोड दिएका छन्। बुधबार यदुवंशी उत्थान समाज नेपालले आयोजन गरेको कार्यक्रमका सहभागीले तत्काल चुरे विनाश रोक्न पहल नगरे भयावह स्थिति निम्तिने खतरा रहेको औल्याए।
पूर्व सहसचिव उमेश्वरनाथ गंगोलले देशभर चुरे विनाश बढ्दै गएकामा चिन्ता प्रकट गरेका छन्। उनले चुरे विनाश रोकथाम सरकारको मात्र नभएको र त्यसलाई रोक्न स्थानीयवासीको सक्रियता आवश्यक भएको बताएका छन्। समाजका महासचिव रामदरेश रायले पूर्वी तराईमा चुरे संरक्षणमा सक्रिय व्यक्ति तस्करको निसाना बनिरहेकोमा चिन्ता व्यक्त गरेका छन्।
संरक्षणकर्मी इन्दिरा कोइरालाले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी बन्न नसकेको बताए। वातावरण विज्ञ भुवन गिरीले ढुङ्गा गिट्टी बालुवा उत्खनन अत्यधिक भइरहेको र त्यसबाट चुरे विनाश बढ्दै गएको बताएका छन्।
कार्यक्रममा संरक्षणकर्मी अम्बिका गौतम, अञ्जु यादव, राजीव देव, सिन्धु भट्ट, श्यामसुन्दर यादव, शोभा गिरीलगायतले चुरे संरक्षणमा आवश्यक पहल गर्न सरकारसँग माग गरेका थिए। सो अवसरमा समाजले नेपाल पिछडापर्व महासङ्घको विद्यार्थी सङ्गठनका अध्यक्ष प्रकाशमणि राउतलाई सम्मान गरेको थियो। रासस