एजेन्सी– स्पेनिस कोपा डेल रे अन्तर्गत बुधबार रियल म्याड्रिडले रियल जारागोजाको मैदानमा ४–० को सानदार जित दर्ता गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
रियलको जितमा दुवै हाफमा २–२ गोल सम्भव भएको थियो। खेलको छैटौं मिनेटमा रियलले राफेल भारानको गोलमा अग्रता लिएको थियो। टोनी क्रुसको क्रसमा भिनिसियस बिट हुँदा फार पोस्टमा रहेका भारानले सहजै गोल गरे । पहिलो हाफको मध्यतिर जारागोजा बराबरी गर्नबाट बञ्चित भयो। मिडफिल्डर सिन्जि कागावाको प्रहारलाई गोलरक्षक अल्फोन्स आरीओलाले उत्कृष्ट बचाउ गरे।
जारागोजाले लगातार दवाव कायम गरिरहँदा नै रियलले पुनस् खेलमा पकड बनायो । ३२ औं मिनेटमा मिगुएल लारानेसबाट क्रुसले मिडफिल्डमा बल खोस्दै लुकास भाज्केजलाई दिएको पासमा भाज्केजले गोल गरे।
दोस्रो हाफको सुरुवात देखिनै जारागोजाले केहि दवाव सिर्जना गर्यो। तर आरीओला लगातार बाधक बन्दा कुनै गोल निस्केन। ७२ औं मिनेटमा भिनिसियसले गोल गर्दै रियलको जित सुनिश्चित गरे। उनले हामेस रोड्रीग्वेजसँग १–२ पास खेल्दै गोलरक्षकलाई चिप गर्दै अग्रता बढाए।
वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले ८० औं मिनेटमा ४–० को स्कोर बनाए। उनले ड्यानी कार्भाजलको उत्कृष्ट क्रसमा गोल गरे। यससँगै रियल अन्तिम ८ मा प्रवेश गरेको छ। प्रतियोगिताको आज हुने खेलमा बार्सिलोनाले लेगानेसको सामना गर्नेछ।