एजेन्सी– मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा १९ अंकको स्पष्ट अग्रता बनाएको छ। बुधबार राति भएको खेलमा वेस्टह्याम युनाइटेडलाई २–० ले पराजित गर्दै शीर्षस्थानमा १९ अंकको स्पष्ट अग्रता लिन सफल भएको हो।
यससँगै लिभरपुलले प्रिमियर लिगमा १४ खेल बाँकी रहँदा उपाधि यात्रालाई थप मजवुत बनाएको छ। लिभरपुलको २४ खेलबाट ७० अंक जोडेको छ। जसमा २३ जित र १ बराबरीको नतिजा छ। समान खेलबाटै दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ तथा तेस्रो स्थानको लेस्टर सिटीको ४८ अंक छ।
वेस्टह्यामको मैदानमा लिभरपुलको जितमा मोहम्मद सलाह र एलेक्स अक्सलेड चेम्वरलेनले गोल गरे। घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोलको लागि ३५औं मिनेटमा पेनाल्टीको साहरा लिनु परेको थियो।
रोवर्टाे फिर्मिनोको प्रहारलाई इसा डिओपले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि लिभरपुलले पेनाल्टीको मौका पाएको थियो। जसलाई मोहम्मद सलाहले सदुपयोग गरे। ४९औं मिनेटमा घरेलु टोलीले बराबरीको अवसर खेर फाल्यो।
डिक्लिन रिस र म्यानुयल लान्जिनीको प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गरे। लगत्तै एन्ड्रिउ रोबर्टसनको क्रसलाई एंगेलो अग्बोनाले ब्लक गरेपनि फिर्मिनोको प्रहारलाई गोलरक्षक लुकास फावियान्स्कीले बचाए।
५२औं मिनेटमा चेम्वरलेनले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। काउन्टर एट्याकमा मोहम्मद सलाहको पासलाई गोलमा परिणत गरेका थिए। त्यसपछि पनि दुवै टोलीले गोलका अवसर पाएपनि सदुपयोग हुन नसक्दा लिभरपुल २–० ले विजयी हुन सफल भयो। हारपछि वेस्टह्याम २३ अंक जोडेर १७औं स्थानमा छ।