एजेन्सी– म्यानचेष्टर डर्बीमा इंग्लिस फुटबल लिग (इएफल) कप अर्थात कारवाओ कपको दोस्रो लेगमा युनाइटेडसँग पराजित भएपनि म्यानचेस्टर सिटी फाइनलमा प्रवेश गर्न सफल भएको छ।
घरेलु मैदानमा सिटी युनाइटेडसँग १–० ले पराजित भएपनि समग्रमा ३–२ को जितसहित फाइनल यात्रा तय गरेको हो। सिटीले पहिलो लेगमा ३–१ को जित निकालेको थियो। दोस्रो लेगमा १० खेलाडीमा समेटिएको युनाइटेडसँग पराजित भएपनि पहिलो लेगमा लिएको अग्रता सिटीलाई फाइनल पुग्न पर्याप्त बन्यो।
इतिहाद स्टेडियममा युनाइटेडको जितमा नेमन्जा माटिचले विजयी गोल गरे। उनले खेलको ३५ औ मिनेटमा गोल गरेका थिए। उनले फ्रेडको फ्रिकिकलाई सिटीका डिफेन्डरले क्लियर गर्न नसक्दा रिवाउन्डमा नेमान्जाले भलीमार्फत गोल गर्न सफल भएका थिए।
तर, माटिच ७६औं मिनेटमा दोहोरो पहेँलो कार्डसहित रातो कार्ड खाँदै मैदान बाहिरिएपछि युनाइटेडले १० खेलाडीमा समेटिएको थियो। तर, त्यसको फाइदा सिटीले उठाउन सकेन।
सिटीले अब उपाधिका लागि मार्च १ मा एस्टन भिल्लासँग वेम्वली मैदानमा खेल्नेछ । एस्टन भिल्लाले मंगलबार राति लेस्टर सिटीलाई समग्रमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थन बनाएको थियो।