काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा आज हनुमानढोका दरबारस्थित नासलचोक जानु भई परम्परानुसार वसन्त श्रवण गरेकि छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ९ः०५ बजेको शुभसाइतमा उनले वसन्त श्रवण गरेकि हुन्।
सो अवसरमा राष्ट्रपति भण्डारीले पण्डितबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरेका थिए। राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चैबाजाले स्वागत गरिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोही अवसरमा वसन्त श्रवण गर्नु भई प्रसाद ग्रहण गरे। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका निजामती कर्मचारी तथा सुरक्षा निकायका प्रमुखले समेत सो अवसरमा वसन्त श्रवण गरे।
परम्पराअनुसार नासलचोकमा कलाकारले वसन्त राग प्रस्तुत गरेको थियो। वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ। वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ। (रासस)