एजेन्सी– एक इन्डोनेसियाली किशोरले कसरी एउटा तीखो मुख भएको निडलफिस प्रजातिको माछा समुद्रबाट उफ्रिएर आफ्नो घाँटीमा रोपियो अनि उनी कसरी सुरक्षित हुन भागे भन्नेबारे पहिलोपटक बताएका छन्।

मुहमद इदुलले त्यो निडलफिस कसरी आफ्नो घाँटीमा रोपिने गरी आइपुग्दा आफू पानीमा खसेको अनि कसरी पौडँदै किनारमा पुगेको र डेढ घण्टा पर रहेको अस्पताल पुगेको भन्ने बताएका छन्।
ज्यानै जानसक्ने ठूलो घटनापश्चात् पनि यी १६ वर्षीय किशोर जिउँदो र हँसिलो मात्र छैनन् कि आफ्नो कथा सबैलाई सुनाउँदैछन्। यसको मुख्य श्रेय उनको एक चलाख साथी, उनको भाग्य र केही दक्ष शल्यचिकित्सकहरूलाई जान्छ।
घाँटीमा रोपियो
उनको घाँटीमा निडलफिस रोपिएको फोटो भाइरल भयो र संसारभरि पुग्यो। यो घटनाले मुहमदलाई चर्चित बनाइदियो। घटनाको पाँच दिनपछि बीबीसी इन्डोनेसियनसँग कुरा गर्दै मुहमदले त्यो दिन आफू त स्कूले साथी सार्दीसँग माछा मार्न गएको बताए।
पहिले सार्दीको डुङ्गा गयो र म अर्को डुङ्गामा पछिपछि गएँ, उनी सम्झन्छन्। ‘५०० मिटर पर पुगेपछि सार्दीले टर्चको बत्ती बाले।’ अचानक पानीबाट एउटा निडलफिस उफ्रिएर आयो र मेरो घाँटीमा रोपियो।
अँध्यारोमा मुहमद डुङ्गाबाट खसे। माछाको लामो, चुच्चो र तीखो मुखले उनको चिउँडोमुनि घाँटी छेडियो र टाउकोको पछिल्तिरबाट निस्कियो। त्यसमाथि घाँटीमा रोपिएको त्यो माछा छटपटाउँदै थियो र त्यसले पानीमा ती किशोरलाई पनि झन् हल्लाइरहेको थियो।
मुहमदले माछालाई च्याप्प समाते र थप चोट नपुर्याओस् भन्ने आश गरे। मैले सार्दीसँग मद्दत मागेँ। उसले रक्तश्राव नहोस् भन्नका लागि त्यो माछा ननिकाल्न भन्यो, उनी भन्छन्।
दुवै किशोर पौडँदै किनारमा आइपुगे। मुहमदले आफ्नो घाँटीमा रोपिएको त्यो ७५ सेन्टीमिटर लामो माछालाई आफ्नो हातले च्याप्प समातिरहेका थिए।
मुहमदको पिता सहरुद्दिनले उनलाई बाउ–बाउ भन्ने ठाउँको अस्पताल लगे। त्यो अस्पताल दक्षिण पूर्व सुलावेसीको दक्षिण बुटनस्थित उनीहरूको गाउँभन्दा डेढ घण्टा पर थियो।
त्यहाँका चिकित्सकहरूले त्यो माछाको शरीर त काटिदिए तर घाँटीमा रोपिएको माछाको तीखो मुख निकाल्न सकेनन्। त्यसको लागि चाहिने उपकरण त्यहाँ थिएन।
त्यसको निम्ति उनीहरूलाई अझ टाढाको अस्पताल जानुपथ्र्यो। दक्षिण सुलावेसीको राजधानी माकास्सारमा रहेको प्रान्तीय अस्पताल पुग्नु पथ्र्यो। तर त्यो ठूलो वाहिदिन सुदिरोहुसोदो अस्पतालका चिकित्सक समेत मुहमदको अवस्था देखेर विस्मयमा परे।
अस्पतालका निर्देशक खालिद सालेह भन्छन् उनीहरूको निम्ति त्यो अभूतपूर्व किसिमको घटना थियो। त्यसका लागि पाँच विशेषज्ञ आवश्यक थियो। उनीहरूले एक घण्टा लामो शल्यक्रिया गरेर माछाको बाँकी भाग झिकिदिए।
पाँच दिनपछि अब मुहमद घर जान उत्सुक छन्। उनको घाँटीमा पट्टी लगाइएको छ। अब दुखाइ हराएको छ। अझैपनि आफ्नो घाँटीलाई उनी दायाँतर्फ मोड्न सक्दैनन्। तर उनी मुस्कुराइरहेका छन्। उनले अझै केही समय पर्खनु पर्नेछ।
‘उनको अवस्थाको हामी निगरानी गरिरहेका छौँ। सायद केही दिनमा उनी डिस्चार्ज हुनेछन्,’ खालिद सालेहले बताए। तर थप जाँच आवश्यक भएकाले तत्कालै उनी आफ्नो गाउँ भने जान सक्नेछैनन्।
यो घटनापश्चात् माछा मार्ने कामप्रति मुहमदको लगावमा भने कुनै कमी आएको छैन। अबदेखि अलि होसियार हुनु पर्नेछ। निडलफिसलाई प्रकाश मन पर्दैन। ‘त्यसै कारण त्यो उफ्रिएर मेरो घाँटीमा रोपिन आइपुगेको थियो,’ उनले भने। बीबीसी