सुर्खेत – ट्रिपरले किचेर एक युवाको मृत्यु भएपछि अशान्त बनेको सुर्खेतमा आज (बिहीबार) तेस्रो दिन पनि प्रदर्शन चर्किएको छ। मृतकका आफन्तले बिहानैदेखि वीरेन्द्रनगर बजारमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका कारण बजार पसल खुल्न सकेका छैनन् भने सवारी आवागमन पनि प्रभावित भएको छ।
हुलहुज्जतमा उत्रिएको भन्दै प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार बुधबार साँझ नै मृतकका आफन्तसँग सहमति भए पनि एक्कासी अर्को समूह चक्काजाममा उत्रिएपछि समस्या उत्पन्न भएको हो।
ट्रिपर धनी हरि बिसीविरुद्ध मुद्दा दायर गर्ने, प्रदर्शनमा घाइते भएकाहरुको उपचार गर्ने र कानुनी रुपमा मृतकका परिवारलाई राहत दिने सहमति भइसकेको प्रजिअ अधिकारीले जानकारी दिए। तर सहमति भइसकेपछि अर्को समूहले उक्त सहमति नमान्ने भन्दै समस्या बल्झाएको उनले बताए। सहमति नहुँदा मृतक केशरबहादुर सिंहको शव पोस्टमार्टम हुन सकेको छैन।
यद्यपी पुनः प्रदर्शनमा उत्रिएको समूहसँग पनि समन्वयको प्रकिया अघि बढेको उनले जानकारी दिए। कालीकोटका २१ वर्षीय सिंहको जुम्लारोडमा गत मंगलबार बिहान ट्रिपरको ठक्करबाट मृत्यु भएपछि तनाव चुलिएको हो।