ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित याम्फुदिनका ममलाल राईको एउटा याक तीन हप्ताअघि भालुको सिकार बन्यो। चिण्डे चोक खर्कमा चरनकै क्रममा उक्त याक भालुको सिकार बनेको हो। याम्फुदिनकै बारुले भन्ने खर्कमा श्रीकुमार गुरुङको समेत दुई वटा गाई भालुकै आक्रमणमा परी मरे।
यता मिक्वाखोला गाउँपालिकास्थित पापुङका स्थानीय पानदोर्ची शेर्पाका अनुसार सिम्बोकमा पनि दुई वटा चौँरी वन्यजन्तुको आक्रमणमा मरे। यी दुई क्षेत्रमा मात्रै नभई याक, चौँरी पाल्ने गरिएका कालिखोला, घुन्सा, ओलाङचुङ्गोला, तोक्पेगोलालगायतका ठाउँमा समेत यस्तै घटना बारम्बार भइरहन्छन्।
हिमाली क्षेत्रमा पालिने पशु चौपाय सधैँजसो वन्यजन्तुको सिकार बन्ने गरेपछि पशुपालक मारमा पर्दै आएका छन्। बर्सेनि प्रत्येक गोठका एउटा पशुचौपाया वन्यजन्तुको सिकार बन्ने गरेको स्थानीयले बताए। ‘कहिले दिउँसो चरनका समयमा त कहिले राति बसेकै ठाउँमा आएर जङ्गली जनावर भालु, ब्वाँसो, हिउँ चितुवालगायतका वन्यजन्तुले आक्रमण गर्छन, बर्से्नि एकदुई वटा पशु चौपाया जङ्गली जनावरकै सिकार हुने हुँदा समस्या हुने गरेको छ’, याम्फुदिनका पशुपालक खड्क गुरुङले भने।
जङ्गली जनावर मार्न पनि नहुने र यिनीबाट जोगाउने उपाय पनि नहुने हुँदा घाटा बेहोर्न बाध्य हुनुपर्ने उनको भनाइ छ। गुरुङका अनुसार रुँघेर पनि साध्य हुँदैन, कुनबेला आएर मार्छ पत्तो पनि हुन्न। बर्खाको समयमा गोठ उच्च क्षेत्रमा हुने हुँदा सोहीबेला याक, चौँरी हिउँ चितुवाको आक्रमणमा पर्ने गर्छन् भने हिउँदका बेला तल्लो क्षेत्रमा पाइने भालु र ब्वाँसो अर्थात जङ्गली कुकुरको आक्रमणमा पर्छन्।
हिउँदभर गोठ तल्लो क्षेत्रमा राखिन्छ। मिक्वाखोला गाउँपालिका–५ पापुङका पशुपालक मिलनदोर्जी शेर्पाका अनुसार ब्वाँसोले एउटा मात्रै चौँरी अर्थात याक मार्न पायो भने गोठका अन्य याक, चौँरीलाई समेत पालैपालो आक्रमण गर्छ। एउटै गोठका ३०–३५ वटासम्म पशुचौपाय मारेको उदारणसमेत रहेको उनको भनाइ छ। राम्रोसित हुर्किएको एउटा चौँरीलाई मात्रै ५० देखि ८० हजार रुपैयाँसम्म पर्छ भने याकलाई रु ८० हजारदेखि एक लाखसम्म पर्छ।
बर्से्नि वन्यजन्तुको आक्रमणले आफूहरु मारमा पर्दै आएको भन्दै यहाँका पशुपालकले सरकारले हिमाली भेगका पशुपालकका लागि छुट्टै प्रकारको अनुदान तथा प्रोत्साहनको योजना बनाउनुपर्नेमा जोड दिएका छन्। यस्तै पशु बीमाको प्रक्रिया र दाबी भुक्तानीलाई समेत सहज बनाउनुपर्ने उनीहरुको भनाइ छ। बीमा गराउने प्रक्रिया र बीमापछि पाइने सेवा लिन झन्झट हुने गरेकाले पशुपालक बीमाको पहुँचमा पुग्न नसकेको उनीहरुको गुनासो छ। (रासस)