एजेन्सी– भारतका वामपन्थी नेता तथा जेएनयूका पूर्वअध्यक्ष कन्हैया कुमारलाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार कन्हैयालाई प्रहरीले चम्परणस्थित हिरासतमा राखेको छ। आफ्ना समर्थकहरुका साथ गान्धी स्मारक संग्रहालय गइरहँदा उनलाई प्रहरीले पक्राउ गरेको बिबिसीले जनाएको छ।
कन्हैयाले भने ट्वीटर मार्फत यसबारे जानकारी दिएका छन्। उनले यसअघि भारतको नागरिकता संशोधन कानुनको विरोध गर्दैआएका थिए।
जेएनयूमा छँदा उनीमाथि देशद्रोहको मुद्दा समेत लगाइएको थियो। हिरासतमा लगिएपछि कन्हैयाले भनेका छन्, ‘अब त देशमा र्याली गर्न पनि अनुमति लिनुपर्छ। जसरी सरकारले विना जानकारी हिजो राति क्यान्सिल गरिदियो। अब स्वास लिन पनि अनुमति लिनुपर्ला। प्रहरीले भनिरहेको छ कि, हामीले हिरासतमा लियौँ भनेर। हामीसँग चाहिँ नागरिकता सावित गर्ने कागज मागिएको थियो। प्रहरी भने मलाई हिरासतमा राख्ने कागज देखाउन तयार छैन।’
कन्हैया भारतको विवादित नागरिकता कानुनको विरोध गर्दै एक महिने विरोध यात्रा गर्ने तयारीमा थिए। उक्त यात्रामा ५० वटा आमसभा गर्ने तालिका थियो। तर भाषणवाजको रुपमा चिनिएका युवा नेता कन्हैया कुमारलाई उक्त विरोध यात्रा गर्नुअघि नै प्रहरीले पक्राउ गरेको हो। कन्हैया कुमारले राजनीतिमा निष्ठा र इमानको पक्षमा वकालत गर्दैआएका छन्। पछिल्लो चुनावमा बिहारबाट पराजय भोगेका उनी एक प्रभावशाली वक्ताको रुपमा चिनिन्छन्।