एजेन्सी– भारतको नयाँदिल्लीस्थित जामिया मिल्लिया इस्लामिक विश्वविद्यालयमा प्रदर्शन गरिरहेका विद्यार्थीहरुको भीडमा एक युवाले गोली चलाउँदा एकजना घाइते भएका छन्।
प्रहरीकै अगाडि ती युवाले ‘हिन्दुस्तान जिन्दावाद’, ‘दिल्ली पुलिस जिन्दावाद’ जस्ता नारावाजी गर्दै हातमै हतियार बोकेर हिँडिरहेका थिए। प्रदर्शनकारी विद्यार्थीको अगाडि उभिएर उनले ‘ए जो आजादी’ भन्दै गोली चलाएको बताइएकाे छ।
जामिया मिल्लिया विश्वविद्यालयका विद्यार्थीहरु केही दिनदेखि नागरिकता कानुनको विरोध आन्दोलन गर्दैआएका छन्। सोही क्रममा प्रहरी उनीहरुलाई रोक्न त्यहाँ पुगेको थियो। अचानक ती युवाले हातमा पेस्तोल बोकेर प्रत्यक्ष गोली प्रहार गरेका थिए।
गोली प्रहार गरेपछि पोस्तोल बोकेरै नारावाजी गर्दै प्रहरी भएतिर लम्किँदै थिए। प्रदर्शनकारी विद्यार्थीहरुले यस घटनालाई सरकारको घुसपैठ भएको बताएका छन्। प्रहरीले ती युवालाई तत्काल नरोकेकोमा उनीहरुले प्रहरीमाथि पनि प्रश्न उठाएका छन्।
घटनास्थलमा ठूलो संख्यामा प्रहरीको उपस्थिति थियो। तर उनीहरुको आँखै अगाडि ती युवा पोस्तोल बोकेर हिँड्दा प्रहरीले रोक्न सकेका थिएनन्। प्रदर्शनकारी विद्यार्थीहरु भने जामियाबाट महात्मा गान्धी स्मृति राजघाटतर्फ र्याली सहित जाँदै थिए।