भक्तपुर– सूर्यविनायक नगरपालिकाले आफ्नै भवन निर्माण शुरु गरेको छ। नयाँभवनको आज नगर प्रमुख वासुदेव थापाले शिलान्यास गरेका छन्। वडा नं ६ कटुञ्जेस्थित महेन्द्र निमावि सञ्चालन भएको भवन क्षेत्रमा नगरपालिकाले आफ्नो प्रशासनिक भवन निर्माण शुरु गरेको हो।
भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको नगरपालिकाले अबका दुई वर्षमा भवन निर्माण सम्पन्न गरिसक्ने गरेर छ रोपनी ११ आना क्षेत्रफलमा आठ हजार ८ सय १० वर्गफिट क्षेत्रमा भवन निर्माण हुने नगरप्रमुख थापाले बताए। कूल साढे चारतला अग्लो रहने उक्त भवनमा १०० गाडी पाकिङ गर्न मिल्ने गरी दुई तलाको अण्डर ग्राउण्ड पार्किङ रहनेछ। ज्येष्ठ नागरिकमैत्री, अपाङ्गतामैत्री, महिलामैत्री, शिशु स्तनपान क्षेत्र, दुई लिफ्टसहित ४८ कोठा रहने छन्।
नगरपालिकाले ८० जना क्षमताको बैठककक्ष र २१० जना क्षमताको सभाकक्ष रहने उक्त भवन कूल रु २० करोड ४१ लाखको लागतमा निर्माण सम्पन्न गर्नेगरी भ्याली बाबुरत्न निर्माण सेवासँग ठेक्का सम्झौता भएको नगरप्रमुख थापाले जानकारी दिएका छन्। महेन्द्र शान्ति निमाविमा विद्यार्थी नभएकाले तीन वर्षअघि नै विद्यालय मर्ज भएपछि खाली रहेको उक्त स्थानमा विद्यालयको जीर्ण भवन भत्काएर नगरपालिकाले आफ्नो भवन बनाउन लागिएको हो।
आगामी दुई वर्ष्भित्र नगरपालिकाले यस नगरका सबै वडाका वडा कार्यालय भवनसमेत निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिए। नगरपालिकाले तत्काल वडा नं २, ६ र १० का वडा कार्यालय भवन निर्माण गर्न रु एक करोडभन्दा बढीको लागतमा निर्माण शुरु गर्ने भएको जानकारी दिँदै उनले दुई वर्षमा सबै वडाका आफ्नै भवनसमेत निर्माण हुने बताएका छन्। रासस