इटहरी - नेपाल टेलिभिजन(एनटिभी)को ३५औंँ वार्षिकोत्सवका अवसरमा शुक्रबारदेखि इटहरिबाट पनि प्रशारण हुने भएको छ। प्रदेश १ र २ लाई लक्षित गर्दै सरकारले एनटिभीको पाँचौं च्यानल प्रशारणमा ल्याउन लागेको हो।
नेपाल टेलिभिजन इटहरी प्रशारण केन्द्रको उद्घाटन प्रधानमन्त्री केपी शर्मा वलीले प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट वटन थिचेर गर्नुहुने भएको छ। नेपाल टेलिभिजन इटहरी कार्यालय परिसरमा आयोजना हुने शुभारम्भ समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा तथा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको विशेष आतिथ्यता रहने भएको एनटिभीले जनाएको छ।
नेपाल टेलिभिजनको पाँचौ च्यानलको रुपमा सञ्चालन हुन लागेको इटहरी प्रशारण केन्द्र प्राविधिक हिसाबले उच्च प्रविधियुक्त हुने र यस च्यानलको पहुँच राष्ट्रिय प्रशारण सरह हुने नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले जानकारी गराए। उनले साथै नेपाल टेलिभिजनको डिटिएच तथा देशभरका केवल वितरकमार्फत हेर्न सकिने बताए।
साथै मोबाइल एप्स र वेवसाइटमार्फत संसारभर यसको प्रशारण हेर्न सकिने जानकारी गराए। अध्यक्ष विष्टले स्याटेलाइटमार्फत विश्वका १४६ देशमा हेर्न सकिने छ भने भूसतहीय प्रशारणमार्फत देशको ७२ प्रतिशत जनसङ्ख्या माझ पुग्ने बताए। त्यसैगरी नेपाल टेलिभिजनका महाप्रबन्धक सचिन रोकाले एनटिभी इटहरी आफैमा स्वतन्त्र रहेकाले यहाँका स्थानीय क्षेत्रका भाषा सँस्कृतिको उजागर गर्दै सदुपयोग गर्न आग्रह गरे ।रासस