काठमाडौं– देशकै ठूलो कालीमाटी फलफूल तथा तरकारी बजारका स्टल नियमविपरीत ओगटेर बसेका व्यापारीलाई कारबाही गर्न नसक्दा लाखौँ रुपैयाँ नोक्सान हुनुका साथै अराजक अवस्थालाई प्रोत्साहन भइरहेको छ।
कालीमाटी तरकारी तथा फलफूल विकास समितिले २०७५ साल असोज २ गते हटाउने भनिएका ३१ व्यापारीले अहिलेसम्म अदालतको मुद्दा देखाउँदै स्टल ओगटेर भाडा नै नतिरी व्यापार गर्दै आएका छन्।
समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले ३१ वटा स्टलका व्यापारीले बजारको नियमविपरीत व्यापार सञ्चालन गरिरहेको स्वीकार गरे। हामीले बारम्बार हट्नका लागि सूचना निकालेका छौँ, तै पनि उनीहरू अटेर गरेर बसिरहेका छन, निर्देशक पौडेलले भने।
उनका अनुसार समितिले एक महिने, १५ दिने र सात दिने गरेर तीनचारपटक सूचना निकाल्नुका साथै, स्टलैपिच्छे पत्र काट्ने समेत काम गरेका छौँ, यति गर्दा पनि व्यापारीले बेवास्ता गर्दै हट्न मानेका छैनन्। यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन्।