नेपालगञ्ज– पटकपटकको हिउँदे वर्षाका कारण आलुलगायतका अन्य तरकारीबालीमा बाँके जिल्लामा नराम्रो क्षति पुगेको छ। जिल्लाका किसानले लगाएका आलु, गोलभिँडा, काउली, बन्दा, खुर्सानी जस्ता सागसब्जीमा हिउँदे वर्षाले क्षति पु¥याएको कृषि ज्ञान केन्द्र बाँकेका बाली संरक्षण अधिकृत सकिल अहमदले जानकारी दिए।
उनका अनुसार, तरकारीको प्रकृति हेरेर ७५ प्रतिशतसम्म क्षति पुगेको छ। यस जिल्लामा छ हजार हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। ती मध्ये आलु दुई हजार ८००, गोलभिँडा एक हजार ५००, काउली तथा बन्दा ५०० र खुर्सानी तथा अन्य सागसब्जी ५०० हेक्टरमा खेती हुने गरेको छ।
हिउँदे वर्षाका कारण जिल्लामा सबैभन्दा बढी आलु र गोलभिँडा खेतीमा क्षति भएको छ। उँचो ठाउँको तरकारी खेतीभन्दा खाल्डो जग्गामा लगाएको तरकारीमा बढी क्षति भएको छ। खाल्डो जग्गामा लगाएको तरकारीमा पानी जमेर सबै तरकारी बाली नष्ट भएको छ। उँचो ठाउँमा लगाएको तरकारीमा केही कम क्षति भएको करमोहना गाउँका किसान जगतराम काँदुले जानकारी दिए।
किसानले लगाएको तरकारीबालीमा बढी क्षति भएकाले सरकारले क्षतिपूर्ति दिनुपर्ने नेपालगञ्ज–१२ बेलासपुर करमोहना स्मार्ट कृषिगाउँका कार्यवाहक अध्यक्ष सन्तकुमार बर्माले माग गरेको छ। बाँकेका आठवटै स्थानीय तहका किसानले व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका छन्। किसानको क्षतिपूर्ति बढी भएकाले कृषि ज्ञान केन्द्रले अहिले किसानको क्षतिको तथ्याङ्क सङ्कलन गरिरहेको छ।
लागुऔषधको घटना १३ प्रतिशतले घट्यो
बाँके जिल्लामा लागुऔषध सेवन र कारोवारको घटना यस वर्ष १३ प्रतिशतले घटेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, प्रभावकारी सूचना संयन्त्र, चेकजाँचमा कडाइ, प्रहरी सक्रियता र ब्यूरो कार्यालयको स्थापनाका कारण घटनाको प्रतिशतमा कमी आएको हो।
जिल्ला खुला सिमाना भएकाले भारत र नेपाल दुवैतर्पmबाट लागुऔषध प्रयोगकर्ता र कारोवारी बढ्दै जान थालेपछि यसको रोकथामका लागि प्रहरीले संरचनागत व्यवस्थासहित आफ्नो सक्रियता बढाएको हो। खुला सिमानाका कारण भारतबाट ब्राउनसुगर, कोरेक्स, नाइट्रोजेपाम ट्याब्लेटलगायतका लागुऔषध नेपालमा भित्रिने गरेको छ।
नेपालबाट गाँजा र चरेशलगायतको लागुऔषध भारतमा जाने गरेको छ। विशेषतः सीमानाकामा दुवै मुलुकका प्रहरीले कडाइ गरेपछि अहिले लागुऔषधको कारोवार घटेको प्रहरी निरीक्षक थापाले बताएका छन्। तथापि, यसका सेवनकर्ता र कारोवारीले शरीरको गुप्ताङ, मुखलगायत विभिन्न स्थानमा लागुऔषध लुकाएर ल्याउने गरेको प्रहरीको भनाइ छ।
जिल्लामा अहिले ठूलो परिणामको लागुऔषधको कारोवार घटे पनि सानो परिणाममा लागुऔषध ओसारपोसार भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिएका छन्। चालु आर्थिक वर्षको छ महिनामा जिल्ला प्रहरी कार्यालयले १६३ लागुऔषध प्रयोगर्तालाई कारवाही गरेको छ। जिल्ला कारागारमा मात्र अहिले करिब २०० बढी कैदी लागुऔषध मुद्दाकै रहेको जनाइएको छ।
लागुऔषधको कुलतमा फसेकाको उपचारका लागि जिल्लामा सात वटा पुनःस्थापन केन्द्र खोलिएका छन्। लागुऔषधको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका अनुसार बाँकेका झण्डै एक हजार बढी प्रयोगकर्ता छन्। लागुऔषध प्रयोगकर्ताको पुनःस्थापना गरेर समस्या समाधान गर्नुपर्ने लागुऔषधविरुद्धका अभियन्ता अभिराज क्षेत्रीको सुझाव छ। (रासस)