एजेन्सी– क्याटलान क्लब बार्सिलोनाले लेगानेसलाई हराउँदै स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। घरेलु मैदानमा बार्सिलोनाले लेगानेसमाथि ५–० को सानदार जित निकाल्दै अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो।
घरेलु मैदान नोउक्याम्पमा बार्सिलोनाको सानदार जितमा कप्तान मेस्सीको दुई गोलसँगै एन्टोइन ग्रिजमन, क्लेमन्ट लेङ्लेट र आर्थरले गोल गरे। पहिलो हाफमा २ तथा दोस्रो हाफमा ३ गोल सम्भव भएको थियो।

खेलको चौथो मिनेटमा नै नेल्सन सेमेडोको पासमा ग्रिजमनले गोल गर्दै बार्सिलोनाले अग्रता बनाएको थियो। २८औं मिनेटमा लेङ्लेटले कप्तान मेस्सीको पासमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनायो।
पहिलो हाफमा एक गोलका लागि असिस्ट गरेका कप्तान मेस्सी दोस्रो हाफमा छाए । ५९औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोना सहज जिततर्फ अग्रसर बन्यो। ७७औं मिनेटमा आर्थरले गोल गरेपछि बार्सिलोनाले खेलमा ४–० को आरामदायी अग्रता बनायो।
खेल सकिन एक मिनेट बाँकी रहँदा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको ५–० को सानदार जित दिलाए। मेस्सीले इभान राकिटिकको पासमा गोल गर्न सफल भएका थिए।
अर्काे खेलमा ला लिगा टोली सेभियालाई ३–१ ले पराजित गर्दै दोस्रो डिभिजनको मिरान्डेसले क्वाटरफाइनलको यात्रा तय गरेको छ। मिरान्डेसको जितमा म्याथ्युज एइएसले दुई तथा अल्भारो रेले एक गोल गरे।
सेभियाका नोलिटोले एक गोल फर्काएपनि हार टार्न सकेन। यससँगै कोपा डेल रेको क्वाटरफाइनलमा पुग्ने आठ टोलीको टुंगो लागेको छ।
क्वाटरफाइनल पुग्ने टोली
एथ्लेटिको बिल्वाओ, भ्यालेन्सिया, भिल्लारियल, ग्रानडा, रियल सोसिडाड, रियाल म्याड्रिड, बार्सिलोना र मिरान्डेस