बाँके– बाँकेका थारु महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन्। हस्तकला उद्योग स्थापना गरेर सङ्गठित भएका महिलाले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी राम्रो आयआर्जन गरेका हुन्।
जङ्गलबाट खर ल्याई सामग्री बनाउँदै आएको पञ्चशील हस्तकला केन्द्रका अध्यक्षसमेत रहेका नेपालगञ्ज–९ बाँकेगाउँकी हस्तकला उद्यमी निरु चौधरीले जानकारी दिएका छन्। उनले भने, ‘थारु हस्तकलाका सामान उत्पादन गर्न थालेपछि न कसैको टोकाइ खानुपरेको छ न त कामको खोजीमा बाहिर जानुपर्ने बाध्यता छ।’
उत्पादन गर्न लागेको समयका आधारमा सामानको मूल्य तोक्ने निर्धारण गर्ने जनाइएकोे छ। उनका अनुसार थारु महिलाले रु २० देखि रु ७०० सम्मको सामान उत्पादन गर्दै आएका छन्। पेनहोल्डर, गमला, हट्केस, ज्वेलरी, डस्टबिन, ट्रेलगायत सामान उत्पादन गरेर बजारमा पठाउँदै आएका छन्।
थारु हस्तकलाका सामान उत्पादन गर्न थालेपछि मजदूरी गर्ने बाध्यताबाट मुक्ति मिलेको नेपालगञ्ज–१२ की उद्यमी विह्या थारुले बताएका छन्। केही वर्षअघिसम्म थोरै रकम जोड्न समस्या पाएका थारु महिलाले आफैँले उत्पादन गरेका सामग्रीबाट राम्रो आम्दानी गरिरहेका छन्।
थारु हस्तकला व्यवसायले हराउँदै गएको हस्तकलाको जगेर्नासमेत भएको उनले जानकारी दिएका छन्। थारु हस्तकला उत्पादनसम्बन्धी तीनमहिने तालीम लिएर व्यवसाय शुरु गरेकी विह्याले भने, ‘एकातिर हराउँदै गएको थारु हस्तकलालाई जीवन्त राख्न र व्यवसायबाट राम्रो आम्दानी भएको छ।’
मासिक रु १०१२ हजार आम्दानी र सामग्रीको खपतमा समेत समस्या नभएको जनाइएको छ। मागअनुसार सामग्री पु¥याउन नसकिएको पञ्चशील हस्तकला केन्द्रले जनाएको छ। माग बढ्दै गएपछि सामान पु¥याउन नसकिएको बताउँदै केन्द्रका अध्यक्ष निरुले आलोपालो गरेर सामान पु¥याउने गरिएको जानकारी दिए।
मागअनुसार थारु हस्तकलाका सामान उत्पादन गर्न कठिन भएको नेपालगञ्ज–९, बाँकेगाउँकी आरती चौधरीले बताएका छन्। ‘हस्तकलाको व्यवसाय शुरु नगर्दै फुर्स्दिलो भए पनि अहिले फुर्सद मिलाउनै गाह्रो हुने गरेको उनको भनाइ छ।’ टिभी हेरेर र साथीसङ्गीसँग गफगाफ गरेर दिन बित्थ्यो, तर अहिले एकछिन पनि फुर्सद हुँदैन’, उनले भने।
नेपालगञ्ज–९, खट्कनपूर्वाकी सरिता चौधरीले पनि थारु हस्तकलालाई व्यवसाय बनाएको छ। उनले घरको कामधन्दा सकेर फुर्सदको समयमा थारु हस्तकलाका सामान बनाउने गरेको बताएका छन्। थारु महिलाले उत्पादन गरेका सामान नेपालगञ्ज, काठमाडौँ, पोखरा, बुटवल, अमेरिका, जापान, अष्ट्रेलिया, क्यानडा, डेनमार्कजस्ता देशमा जाने गरेका छन्।
‘केही विदेशमा गए पनि अधिकांश सामान काठमाडौँमै खपत हुन्छ’, पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष निरुले भने। घरमा प्रयोग गर्नका लागि मात्र हस्तकलाका सामान बनाउने महिलाले अहिले यसलाई व्यवसाय बनाएको उनले बताएका छन्। थारु महिलाले थारु हस्तकलाको सीपलाई परिमार्जन गरी आधुनिक डिजाइनका सामग्री उत्पादन गर्न थालेका छन्।
यसले उत्पादन भएका सामानले बजार पाउने गरेको छ। ‘हामीले पहिले पनि थारु हस्तकलाका सामान बनाउँथ्यौँ, तर पछिल्लो समय बजारमा पाइने आधुनिक र चलन चल्तीमा रहेका प्लास्टिक, तामा, सिसाका भाँडाजस्तै डिजाइनमा बनाउन थालेका छौँ’, केन्द्रका अध्यक्ष निरुले भने। उनका अनुसार थारु महिलाले उत्पादन गरेका सामान वातावरणमैत्री समेत छन्।
सड्ने, गल्ने भएकाले देश, विदेशमा माग बढ्दै गएको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार देश, विदेशमा मात्र नभई मेला, महोत्सव र शहरमा हुने कार्यक्रममा पनि बिक्री हुने गरेको छ। नेपालगञ्जमा हुने कार्यक्रम र सभा, सम्मेलनका अतिथिलाई उपहार दिनका लागि पनि थारु हस्तकलाका सामान प्रयोग हुन थालेको छ।
नेपालगञ्जका नागरिक समाजका अगुवा र उद्योगी, व्यापारीले थारु हस्तकलाको सामानलाई नेपालगञ्जको पहिचानको रुपमा स्थापित गर्ने अभियानमा छन्। ‘नेपालगञ्जमा उपहारका रुपमा थारु हस्तकलाका सामान दिने संस्कारको विकास भएको छ, हामीले थारु हस्तकलाका सामानलाई नेपालगञ्जको पहिचानका रुपमा स्थापित गर्ने अभियानमा छौँ’, नेपालगञ्जका व्यवसायी सञ्जय थापाले भने। (रासस)