एजेन्सी– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनका मिडफिल्डर ब्रुनो फर्नान्डेजलाई अनुबन्ध गरेको छ। युनाइटेडले फर्नान्डेजलाई साँढे ५ वर्षका लागि ६८ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो।
यससँगै उनी २०२५ सम्म युनाइटेडमा रहनेछन्। युनाइटेडले फर्नान्डेजलाई अनुबन्ध गर्न यसै समरमा प्रयास गरेपनि असफल भएको थियो। विन्टर सिजनको दुई दिन बाँकी रहँदा अनुबन्ध गर्न सफल भएको हो। बिहीबारै उनको ओल्ड ट्राफोर्डमा रहेको एवान ट्रेनिङ कम्प्लेक्समा मेडिकलसँगै सम्झौता भएको थियो।
सम्झौतासँगै फर्नान्डेजले जतिबेला आफ्ना स्टार आइकन क्रिस्टियानो रोनाल्डोले युनाइटेड खेल्दै गर्दा युनाइटेडप्रति साँच्चिकै प्रेम शुरु भएको र त्यसबेला देखि यो ठुलो क्लबको प्रशंसक रहेको बताए। ‘अब म्यानचेस्टर युनाइटेडका लागि खेल्न मेरो लागि अतुलनीय हुन्छ। यस क्षणमा पुग्न कडा मिहनेत गरेको छु।’ सम्झौतापछि फर्नान्डेजले भने, ‘म क्लबका प्रशंसकहरुलाई के वचन दिन चहान्छु भने म मेरो तर्फबाट सक्दो प्रयास गर्नेछु। जसले हामीलाई थप सफलता र ट्रफीहरु ल्याउन मद्दत गर्नेछ।’ उनले प्रशिक्षक ओले गनर सोल्सजर र क्लबले म प्रति ठुलो विश्वास देखाएकाले उनीहरुको विश्वास मर्न नदिने बताए।
युनाइटेडका प्रशिक्षक ओले गनरले धेरै महिनादेखि प्रयास गरिएको र उनको आगमनमा सबै प्रभावित भएको बताएका छन्। उनले युनाइटेडमा आफ्नो गोल र खेल्ने तथ्यले प्रमाणित गर्ने थपे।
यस सिजन फर्नान्डेजले लिस्वनबाट २८ खेलमा १५ गोल गरेका छन्। उनले लिस्वनका लागि १३७ खेलमा ६३ गोल र ५२ गोलका लागि पास उपलब्ध गराएका थिए। पोर्चुगलका लागि १९ खेल खेलिसकेका फर्नान्डेज सन् २०१९ को युएईएफए नेसन्स लिग जित्दा टिममा मुख्य खेलाडी रहेका थिए।
२५ वर्षीय फर्नान्डेजले २०१२/१३ सिजनमा नोभार काल्सियोबाट खेल्दै व्यवसायिक यात्रा थालेका थिए। त्यसपछि उडिनेसी र साम्पडोरियाबाट खेलेका उनी २०१६/१७ को सिजनपछि लिस्वन पुगेका थिए।