धरान – प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा निलम्बित भएका छन्। संघीय प्रहरी इकाइ धरानमा कार्यरत राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई गृह मन्त्रालयले निलम्बन गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माका अनुसार उनलाई बिहीबार निलम्बन गरिएको हो। साथै, गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरेको छ।
गत कात्तिकमा धरानकी एक महिला राणाविरुद्ध उजुरी लिएर गृह पुगेकी थिइन्। उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पीडित बनेको दाबी गरेकी थिइन्। राणाले भने आरोप अस्वीकार गर्दै आएका छन्।