काठमाडौं – मानिसलाई विभिन्न कामको थकानपछि शरीरको अंगलाई आराम प्रदान गर्न निद्रा आवश्यक हुन्छ । मानिसको शरीरलाई स्वास्थ्य राख्न र ऊर्जा सक्तिका लागि पुरा निद्रा हुन एकदमै जरुरी हुन्छ। पुरुषको तुलनामा महिलाले अलि धेरै समय सुत्नु आवश्यक हुन्छ।
किनभने महिलाहरु बिहान सबेरैदेखि राति अबेरसम्म घरायसी काममा ब्यस्त रहन्छन्। महिलाहरु पछिल्लो समय घरायसी कामका साथ–साथै अफिस जाने वा थप व्यवसायमा ब्यस्त हुने भएका कारण थकान पनि धेरै हुने गर्छ। तर नेपाली समाजमा महिलाहरुले पुरुषको तुलनामा धेरै सुत्न पाउँदैनन्।
उनीहरू बिहान सबेरैदेखि राति अबेरसम्म घरधन्दा, सन्तानको रेखदेख, घरपरिवारको रेखदेख तथा अफिसको काम सकेर मात्र ओछ्यानमा पुग्छन् भने, दिनभरको थकानका कारणले गर्दा पनि उनीहरुको सुताइ भोलिपल्टको काम गर्नका लागि पर्याप्त हुँदैन। कामको चापका कारण महिलाहरूले भनेको समयमा सुत्न नपाउने, ढिलो सुत्दा झट्ट निद्रा नपर्ने तथा दोस्रो दिनका लागि पनि सबेरै उठ्नुपर्ने हुँदा निन्द्रा पुग्ने गर्दैन।
त्यसैले निद्रा पूरा गर्नका लागि पनि अत्यधिक समय सुत्नुपर्ने चिकित्सकहरू बताउँछन्। पुरुषको तुलनामा महिलाहरूको शरीरमा हुने हर्मोनको परिवर्तनका कारणले उनीहरूको निद्रामा असर पुगेर र इन्सोमेनिया हुने खतरा पनि उच्च रहन्छ। त्यसकारण महिलाहरू दिमागको प्रयोग धेरै गर्ने हुँदा दिमागलाई ताजा र चलायमान बनाउनका लागि पनि धेरै सुत्नुपर्ने हुन्छ।
महिनावारीको समयमा पेटको दुखाइ, वाक्वाकी लाग्ने, मुड बदलिने, मन अत्तालिने, घरीघरी भोक लाग्नुका कारण आनन्दले सुत्न पनि पाउँदैनन्। गर्भावस्था तथा सुत्केरी अवस्थामा शारीरिक र मानसिक बदलावका कारण महिलाहरुलाई सुत्नमा धेरै समस्या हुने गर्छ। यस्तै विभिद कारणले गर्दा पुरुषको तुलनामा महिलाहरु धेरै सुत्न जरुरी हुन्छ।