एजेन्सी– प्रजातान्त्रिक देश कङ्गोको पूर्वमा एलाइड डेमोक्रेटिक फोर्सेजका लडाकुले गरेको पछिल्लो आक्रमणमा २४ सर्वसाधारणको ज्यान गएको छ। यसै साताभित्र विद्रोही लडाकुको आक्रमणबाट मारिनेको संख्या ६० पुगेको अधिकारीहरुले बताएका छन्।
अस्थिर बेनी क्षेत्रको ओइचा नजिकै २४ जनाको शव भेटिएको वरिष्ठ प्रशासक डोनाट किबवानाले जानकारी दिए। तर कङ्गो अनुसन्धान समूह र ह्युमन राइट्स वाचको संयुक्त विज्ञप्तिमा त्यस आक्रमणमा १९ जनाको मात्र ज्यान गएको उल्लेख छ। कङ्गोको सेनाले एडीएफ समूह विरुद्ध सैन्य अभियान सञ्चालन गरिरहेको छ।
छिमेकी मुलुक युगान्डामा स्थापना भएको एडीएफ हाल कङ्गोको पूर्वमा सक्रिय छ। यो क्षेत्र लामो समयदेखि विभिन्न समूहको आक्रमणबाट आक्रान्त छ। कङ्गो र यसका छिमेकी देशमा सक्रिय समूहहरु आम नागरिकको नरसंहारमा निरन्तर संलग्न रहेको पाइएको छ।
बेनीमा अक्टोबर २०१४ देखि सक्रिय एडीएफले एक हजारभन्दा बढी नागरिकको हत्या गरिसकेको छ। यो समूह मूल रुपमा अतिवादी इस्लामिक विद्रोही समूह हो। यस समूहले सुरुका वर्षहरुमा युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीको विरोधीका रुपमा आफूलाई उभ्याएको थियो।
सन् १९९५ देखि यो समूह कङ्गो युद्धमा सहभागी भएको थियो र युगान्डाभित्र सैन्य कारबाही रोकेको थियो। यो समूहमा विभिन्न देशका नागरिक भर्ती भएको अनुमान छ। संयुक्त राष्ट्र संघका विज्ञहरूले २०१८ मा यो समूहमा करिब ४ सय ५० जना लडाकु मात्र रहेको बताएका छन्।